लोकमानकी छोरीसहित ११ लाई अख्तियारबाट हटाईयो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित अवस्थामा रहेका लोेकमान कार्कीकी छोरीसहित उनले नियुक्त गरेका ११ जना ‘विज्ञ’लाई हटाएको छ । अख्तियारका आयुक्तहरुको छलफलपछि यो कदम चालिएको हो ।
महाअभियोग प्रस्ताव दर्ता भएसँगै लोकमान निलम्बित भएपछी कार्यबाहक अख्तियार प्रमुखको जिम्मेवारी आयुक्त दीप बस्न्यातले सम्हालेका छन् । अख्तियारले कानुनी सल्लाहकारको रुपमा नियुक्त भएका वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे, बालचन्द्र आचार्य, भानुभक्त पोखरेल, करुणाकर मल्लिक लगायतलाई हटाएको हो ।
यसैगरी अनुसन्धान विज्ञको रुपमा नियुक्ति पाएका माधव खत्री, भरत शर्मा, केशव खरेल र गोवर्धन श्रेष्ठलाई पनि हटाइएको छ । अर्थ विज्ञको रुपमा नियुक्ती पाएका रामहरि अर्याल, सञ्चार विज्ञ शरद अधिकारी र भुमिसुधार विज्ञ भनिएका हुपेन्द्रमणि केसीलाई पनि हटाइएको छ ।
यस्तै मेडिकल विज्ञको नाममा नियुक्ति पाएकी लोकमानसिंह कार्कीकी छोरी आध्या श्रीलाई पनि हटाइएको छ । यसैगरी स्वास्थ्य विज्ञ निलमणि उपाध्यायलाई पनि पदमुक्त गरिएको छ । अख्तियारका आयुक्तहरुको बैठकले विज्ञ भनिएका ति व्यक्तिहरु अख्तियारलाई आवश्यक नभएको भन्दै हटाउने निर्णय गरेको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्