सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रुसले युक्रेनका नौसैनिक जहाज कब्जा गरेपछी तनाव

रुस र युक्रेनबीच थप तनाव बढेको छ । क्राइमिया प्रायद्विप नजिकैको समुद्रमा रुसले आक्रमण गरेर युक्रेनका तीनवटा नौसैनिक जहाज कब्जामा लिएपछि थप तनाव बढेको हो ।

रुसले युक्रेनी जहाज गैरकानुनी रुपमा आजोव सागरस्थित आफ्नो सीमामा घुसेकाले आक्रमण गरेर कब्जामा लिएको दाबी गरेको छ । केही युक्रेनी जहाज चालक दलका सदस्य घाइते भएका छन् ।

दुवै देशले एक अर्कालाई दोष लगाएका छन् । पछिल्लो संकट तब उत्पन्न भएपछी रुसले युक्रेनी पानीजहाजहरूलाई आफ्नो जलक्षेत्रमा अवैध तरिकाले पसेको आरोप लगाएको छ ।

रुसले आक्रमण गरेपछि युक्रेन रुष्ट भएको छ । युक्रेनका राष्ट्रपति पेट्रो पारोशेन्कोले रुसको ‘सन्की कदम’ भनेर आलोचना गरेका छन् । त्यसबारे छलफल गर्न उनले राष्ट्रिय सुरक्षा परिषदको आकस्मिक बैठक पनि आह्वान गरेको बीबीसीले जनाएको छ ।

यस घटनाबाट युक्रेनमा मार्शल ल (सैन्य कानुन) लागु गर्ने तयारी भइरहेको छ । युक्रेनको संसदमा यसमा आज भोटिङ हुनसक्ने बीबीसीको समाचारमा उल्लेख छ ।

युक्रेनद्वारा जारी विज्ञप्तिमा लेखिएअनुसार रुसका विशेष सुरक्षा बलले बन्दुक राखिएका युक्रेनका दुई डुंगा र डुंगालाई तान्ने एक जहाजलाई लखेट्दै आक्रमण गरेर कब्जामा लिएका छन् । यस घटनामा जहाजका ६ जना सदस्य घाइते पनि भएका छन् ।

युक्रेनको यो भनाइमा रुसको अझैसम्म कुनै प्रतिक्रिया आएको छैन । त्यसअघि रुसले युक्रेनका जहाज गैरकानुनी रुपमा आफ्नो सिमानामा छिरेकाले कब्जामा लिएको आरोप लगाएको थियो ।

युक्रेनले भने रुसले निकोपाल र बर्डियान्सक नामका ‘गन बोट’मा आक्रमण गरेर कब्जामा लिएको बताएको छ । यसअघि रुसले युक्रेनका पानी जहाजमा निगरानी गर्न दुई लडाकु विमान र दुई हेलिकोप्टर तैनाथ गरेको थियो ।

युक्रेनले मस्कोविरुद्ध अन्तराष्ट्रिय कारवाहीको माग गर्दै राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक डाक्न भनेको छ । युरोपेली युनियनले रुसलाई कर्च स्ट्रेटमा आवागमनको स्वतन्त्रतालाई कायम राख्न आह्वान गरेको छ ।

इयुले सबै पक्षलाई तत्काल तनाव मत्थर पार्न पनि आग्रह गरेको छ । उत्तर एटलान्टिक सन्धि संगठन नेटोले पनि संयम रहन अपिल गर्दै सी अफ अजोभमा रहेका युक्रेनी बन्दरगाहरूमा निर्वाध आवागमनमा पहुँच निश्चित गर्न रुसलाई आग्रह गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्