सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रधानमन्त्रीको चिन्ता–‘१५ दिनमा षड्ण्त्र हुनसक्छ !’

puspakamal-dahal

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसगँ छलफल गरेपछि साँझ विभिन्न मिडियाका सम्पादकसँग छलफल गरेका छन् । छलफलमा प्रचण्डले आफु प्रधानमन्त्री भए पश्चात अहिलेसम्म भएका घटना र त्यसको प्रगतिबारे ब्रिफिङ गरेका थिए ।

सम्पादकसँग दाहालले भने–‘म प्रधानमन्त्री भएपछि पहिलो पटक तीन दलको बैठक बालुवाटारमा बस्यो । केपी ओली पनि पहिलो पटक बालुवाटार आउनुभयो । आजको बैठकमा चारवटा विषयमा कुराकानी भए । महाअभियोग, संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचन र संविधान संसोधन ।’

लोकमानसिंह कार्कीको महाअभियोगबारे संसदले १५ दिन छलफल स्थगन गरेकोमा प्रधानमन्त्रीले असन्तुष्टि प्रकट गरेका छन् । यो प्रकरणलाई चाँडो टुंग्याउन आफूले चाहेको भन्दै प्रचण्डले १५ दिन समय दिँदा यसले अन्यत्र पनि हान्ने हो कि भन्ने आफूलाई चिन्ता लागेको बताए ।

बालुवाटारमा प्रधानमन्त्री भने–‘१५ दिन त किन रोकेको होला ? हाम्रो र मेरो चाहना भन्नुहुन्छ भने छिट्टै होस भन्ने हो । तर, ढीलो भयो । मलाई चिन्ता त्यही छ क्या ! १५ दिन समय छ, अन्त–अन्त हान्ला कि ? तपाईहरु (पत्रकारहरु) सबै मिलेर मलाई मद्दत गरिदिनुभयो भने मेरो चिन्ता दूर हुन्छ । सक्दैन कसैले पनि । नेपाल र नेपाली नै मेन हो ।’

महाअभियोगले संविधान संशोधनलाई असर पार्न नहुने प्रधानमन्त्रीले स्पष्ट पारे । प्रधानमन्त्रीले भने–‘महाअभियोगले संविधान संशोधनलाई असर नगर्ने वातावरण बनाउने जिम्मा हामी सबैको हो । यो (महाअभियोग र संविधान संशोधन) अलग–अलग विषय हो । तर, जोडिने खतरा पनि हुन्छ नेपालमा त ।’

केपी ओली प्रधानमन्त्री भएकै बेला आफूले लोकमानमाथि कारवाही गर्न पटक–पटक भनेको तर ओलीले नमानेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । प्रधानमन्त्रीले ओलीलाई भनेको कुरा सम्झँदै भने–‘मैले केही त गर्नुर्पयो त्यतिबेलै भनेको थिएँ । उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो, सिरियस त हुनुहुन्थ्यो तर, अगाडि जाने अवस्था बनेन ।’

आफू दिल्ली भ्रमणमा गएका बेला लोकमानले चुनौती दिएको भन्दै प्रधानमन्त्री प्रचण्डले आक्रोश पोखे । उनले लोकमानको विरोध गर्दै भने– ‘म प्रम भएँ र दिल्लीमा थिएँ । नेपाल राष्ट्रकै प्रतिनिधित्व गरेर गएको थिएँ । यहाँ अचानक प्रेसमिट गरेर क्यान्टोनमेन्टको कुरा आयो । यो के देखियो भने कार्यकारी प्रमुख प्रधानमन्त्री हो कि को हो भन्ने आयो ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि लोकमानको यस्तो कार्यको विरोध गरेको प्रधानमन्त्रीले प्रष्ट बताए । उनले भने–‘शेरबहादुर देउवाजीले बैठकमा भन्नुभएछ, प्रधानमन्त्री त हामी सबैको हो, केही गर्नुछ भने आएपछि गरे पनि भईहाल्छ, विदेशमै भएको बेला राष्ट्रको प्रतिनिधित्व गर्न गएको प्रधानमन्त्रीलाई तुरुन्तै पक्राउ गर्न खोज्ने भनेपछि यो के तरिका हो भन्नुभएछ । आज मैले आयुक्तहरुलाई राखेर यस्तो चाहिँ हुँदैन भनेको छु ।’

प्रधानमन्त्रीले लोकमानपछि अख्तियारमा कसलाई ल्याउने भन्नबारे तीन दलवीच विवाद सल्टिएको बताएका छन । ‘अख्तियारमा को ल्याउने भन्नेतिर हामी प्रवेश गरेका छैनौं । तर, आजको बैठकमा हामी तीनको बीचमा असाध्यै राम्रो समझदारी भएको छ ।’ प्रधानमन्त्रीले भने–‘मैले, ओलीजीले र शेरबहादुरजीले पनि एउटै ठाउँमा राम्रोसँग मिलेकै स्पिरिट छ । यसरी जाने है, त्यहाँ विवाद गर्ने होइन है भनेपछि धेरै ठूलो सन्तोषको विषय भएको छ । त्यो समस्या छैन अब ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्