फेसबुक भाईबरले नेपाल सरकारलाई भयो घाटा
फेसबुक, ट्वीटर, भाईवर जस्ता सामाजिक संजालको बढ्दो प्रयोगले दूरसंचार कम्पनीहरुको आम्दानी ह्वात्तै घटेको छ । देशका प्रमुख दूरसंचार कम्पनीहरु नेपाल टेलिकम र एनसेलको आयमा यसको प्रत्यक्ष असर परेको पाईएको छ ।
सामाजिक संजालको प्रयोग तुलनात्मक रुपमा सस्तो हुँदा सोमार्फत सन्देश र कल आदानप्रदान बढ्दै गएको छ । जसले गर्दा अन्तराष्ट्रिय कलवापतको आम्दानी घटेको छ ।
केही वर्ष अघिसम्म टेलिकम कम्पनीहरुको कुल आयमा ४० प्रतिशत भन्दा बढीको योगदान गर्ने अन्तराष्ट्रिय कलको योगदान हाल घटेर ३० प्रतिशत भन्दा कम भईसकेको छ । यसले कम्पनीहरुको आय घटाउनुका साथै देशले दूरसञ्चार क्षेत्रबाट गर्ने वैदेशिक मुद्रा आर्जन तथा सरकारले पाउने राजश्वमा समेत असर परेको छ ।
सामाजिक संजालको बढ्दो प्रयोगले दूरसंचार कम्पनीहरुको डाटावापतको आम्दानी भने बढेको छ । एनसेलको डाटा आम्दानी बढे पनि समग्र आम्दानी घटेको हो । एनसेलको प्रमुख लगानीकर्ता कम्पनी आजियाटाले हालै सार्वजनिक गरेको २०१८ को तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदन अनुसार कम्पनीको इन्टरनेट आय बढे पनि कुल आयमा ह्रास आएको हो ।
एनसेलले २०१८ को तेस्रो त्रैमासमा कुल १४ अर्ब १२ करोड आम्दानी गरेको छ । गत वर्ष तेस्रो त्रैमासिकमा एनसेलको कुल आम्दानी १४ अर्ब ५७ करोड थियो । सामाजिक संजालको प्रयोगमा डाटाको प्रयोग अत्याधिक हुँदा सोवापतको आय बढेको कम्पनीले जनाएको छ ।
२०१७ को तेस्रो त्रैमासिकमा कुल आयमा डाटाको योगदान २० प्रतिशत रहेकोमा अहिलेको तेस्रो त्रैमासमा २४ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । एनसेल मात्रै नभई नेपाल टेलिकमको दूरसंचार सेवावापतको आम्दानी समेत घटेको छ ।
टेलिकमले आफ्नो सेवावापत यस आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ९ अर्ब ४९ करोड आम्दानी गरेको छ । गत वर्षको सो अवधिमा यस्तो आम्दानी १० अर्ब ५८ करोड थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्