चोरका खतरनाक जुक्ति, बास माग्ने, चोरेर भाग्ने
मंसिर ७ गते साँझ तीन जना युवा हस्याङफस्याङ गर्दै भरतपुर महानगरपालिका ८, गौरीगन्जका स्थानीय तारानाथ सुवेदीको घरमा आए । ‘हामीलाई बचाइदिनुस, ज्यान जोगाइदिनुस्’ भन्दै एक्कासी घरभित्र पसे ।
कसैले लेखेटेको होलान् भनेर सुवेदीका परिवारले आश्रय दिए । साँझको बेलामा बास मागेछि नबस् भन्न पनि भएन । उनीहरु मध्ये एक जनाले खाना पनि खाए । घरमा बुढीआमा, पाहुना छोरीज्वाइँ, साना वालबच्चा थिए । जाडोको समय भएकाले सबैजना एउटै कोठामा बसेर गफ गरिरहेका थिए ।
रात छिप्पिँदै गएपछि शरण माग्दै आएका तीन युवाले अर्को रुप देखाए । चक्कु, हथौठा देखाए । एक ढोकामा कुरेर बसे । दुई जनाले घर परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिए र तिमीहरुसँग नगद ५ लाख छ, हामी त्यही लिन आएको हौं भन्न थाले ।
सुवेदीसँग जम्मा २ लाख थियो । उनले त्यही दिए । उनीहरुले जसरी पनि ५ लाख र्पुयाएर लैजाने हो, के के छ निकाल नत्र मारिदिन्छौं भन्दै धम्की दिए । नगदसहित सुनचाँदीका गरगहना, मोबाइल, ना ४१ प २०७६ नम्बरको मोटरसाइकल गरी ६ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल लिए र राति २ बजेतिर परिवारका सदस्यहरुलाई घरभित्र थुनेर तीन जना फरार भए ।
घटनाको जानकारी पाउनासाथ चितवन प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान थाल्यो । प्रहरी निरीक्षक राजकुमार थापाको कमाण्डमा खटिएको अनुसन्धान टोलीले कल डिटेलका आधारमा लोकेसन पत्ता लगायो ।
प्रहरी सहायक निरीक्षक सिताराम खतिवडाको टोलीले चोरीका मुख्य योजनाकार मकवानपुरको हेटौंडा नगरपालिका–२ घर भई हाल भनपा ९ वस्ने ५० बर्षका रामचन्द्र थापा र राक्सीराङ गाउँपालिका–८ का रामकुमार मोक्तानलाई मंसिर १२ गते पक्राउ र्गयो ।
अर्का अभियुक्त मकवानपुर थाहा नगरपालिका वडा नः ७ आग्राका सन्तबहादुर थिङलाई प्रहरीले मंसिर १४ गते पक्राउ र्गयो । चोरी गरेको सुन खरिद गर्ने भरतपुर १० का कृष्ण ढकाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
मुख्य अभियुक्त रामचन्द्र थापा २०६६ जेठ २७ गते राति चितवनको साविक कविलास गाविसस्थित घुमाउनेमा पेश्तोल देखाई धनमाल डाँका गरेको मुद्धामा पक्राउ परी साढे ७ वर्ष जेल बसेर छुटेका थिए ।
अर्का अभियुक्त रामकुमार मोक्तान भने डाँका मुद्धामा २०६७ सालमा पक्राउ परी पाँच वर्ष जेल परेका थिए । उनीसँग सुनको सिक्री दुईथान, वेरुवा औंठी लगायतका गरगहना र नगद १९ हजार पाँचसय वरामद गरेको छ ।
पक्राउ परेका तीनै जनालाई डाँका चोरी मुद्धामा चितवन अदालतबाट म्याद थप गरी कानुनी कारर्वाही अघि बढाइएको चितवनका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन् ।
यसअघि गएको असोज १२ गते माडी नपा वडा नं ६, कल्याणपुरमा भीमबहादुर सुनारको घरमा पाहुना बनेर करिब १५ तोला सुनका गरगहना, २ थान मोबाइल लुटेर राति नै फरार भएका थिए । यस घटनाका आरोपित दुई पुरूष तत्कालै पक्राउ परेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्