युट्युवबाट सबैभन्दा धेरै कमाउनेमा ७ बर्षको बच्चा
सोच्नुहोस् त, एउटा सात वर्षको बच्चाले व्यवसायिक काम गर्न सक्छ ? कमाउन सक्छ ? कमाइ हाले पनि कति रूपैयाँ कमाउला ? यी सबको जवाफ दिएका छन् रेयान नामका बालकले जो मात्रै सात वर्षका छन् ।
फोब्स पत्रिकाले रेयानलाई सन् २०१८ मा संसारमै धेरै आम्दानी गर्ने यूट्युब स्टार भनेको छ । उनले यो वर्ष जुन १ तारिखसम्म करिब २ करोड २० लाख (२२ मिलियन) डलर कमाएको फोब्सले जनाएको छ ।
रेयान २०१७ मा पनि यो सूचीमा परेका थिए । रेयानको गत वर्षको कमाइ १ करोड १० लाख डलरभन्दा बढी थियो । उनी धनाढ्य यूट्युब स्टार सूचीको आठौं स्थानमा थिए । यो वर्ष भने उनको कमाइ दोब्बर भएसँगै उनी एक नम्बरमा परेका हुन् ।
यूट्युबका ‘स्टार’ को धनाढ्य सूचीमा करिब २ करोड १५ लाख डलर कमाएर जेक पल दोस्रो नम्बरमा परेका छन् । तेस्रो नम्बरमा २ करोड डलर कमाइ गर्ने ड्यूड परफेक्ट छन् ।
यी सबैलाई सात वर्षका बालक रेयानले उछिनेका हुन् । उनी हरेक हप्ता यूट्युबमा खेलौनाको समीक्षा गर्छन् । उनको च्यानल ‘रेयान ट्योज रिभ्यु’ का भिडियो करोडौंपटक हेरिएका छन् ।
यो च्यानलमार्फत् उनले आफ्ना दर्शकलाई खेलौनाको ‘छुट्टै संसार’ लैजाने टिप्पणी विश्लेषकले गरेका छन् । सन् २०१५ बाट सुरु भएको उनको च्यानलका भिडियो हालसम्म २६ अर्बभन्दा बढी पटक हेरिएका छन् ।
कम उमेरमा सबभन्दा धेरै कमाउनेमा रेयानका बारेमा धेरै जानकारी भने नभएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी अमेरिकाका हुन् भन्ने चाहिँ पुष्टि भएको बताइएको छ ।
गत वर्ष रेयानकी आमाले अमेरिकी अखबार वासिङटनपोस्टलाई एक अन्तर्वार्ता दिएकी थिइन् । त्यसमा उनले रेयानका बारेमा थोरै कुरा बताएकी थिइन् । ‘रेयान सानै उमेरदेखि खेलौनाको सौखिन थियो,’ उनले भनेकी थिइन, ‘ऊ टिभी र यूट्युबमा आउने रिभ्यु हेर्थ्यो । तीन वर्ष छदैंदेखि उसको यसमा लगाव छ ।’
रेयानकी आमाले पनि आफ्नो परिचय दिन मानिनन् । ‘उसले मलाई सानैदेखि गनगन गर्थ्यो,’ उनले भनिन्, ‘म अरू बच्चा जस्तो यूट्युबमा किन देखिन्नँ भन्थ्यो । त्यसपछि हामीले उसलाई यो सम्भव छ बाबु भनेर सम्झायौं र खेलौना किन्न गयौं । पहिलोपटक हामीले उसलाई एक रेल किनिदियौं र यहीँबाट यो सब सुरु भयो ।’
रेयानको एउटै भिडियो ८० करोडभन्दा बढीले हेरेका छन् । मार्च २०१५ मा सुरु भएको उनको च्यानलमा एक करोड ७३ लाखभन्दा बढी फलोअर छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्