सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सांसद महेन्द्र शाहीलाई सिध्याईदिने धम्की

 

mahendra-bdr-shahi

अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने माओवादी सांसद महेन्द्रबहादुर शाहीलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन । आफूलाई अज्ञात नम्बरबाट टेलिफोन आएको बताउँदै शाहीले भने–‘लोकमानविरुद्ध किन प्रस्ताव दर्ता गरिस, प्रस्ताव फिर्ता नलिए तँलाई सिध्याइदिन्छौं भनेर धम्की दिइयो ।’

सांसद शाहीले धम्की दिने व्यक्तिलाई सक्छस भने आफ्नो परिचय सहित आइज लुकेर फोन नगर भन्ने जवाफ फर्काएको बताएका छन । सांसद शाहीले भने–‘म पूर्व जनमुक्ति सेना पनि हुँ, त्यस्ता धम्कीसँग डराउने कुरै छैन, बरु मर्न तयार छु, तर महाअभियोगको प्रस्ताव फिर्ता हुँदैन ।’

सिंगै नेपाली जनता लोकमानमाथि कारवाही हुनुपर्ने पक्षमा रहेको अनूकुल बेलामा समेत माओवादी पार्टीले महाअभियोगका पक्षमा खुलेर निर्णय गर्न नसक्नु र धर्मराउनु दुःखद पक्ष भएको शाहीले बताए । उनले ‘यस्तो बेलामा पनि पार्टीले निर्णय लिन सक्दैन भने कहिले निर्णय लिन्छ ?’ भन्दै आफ्नै दलमाथि प्रश्न गरेका छन ।

लोकमानविरुद्ध महाअभियोग प्रस्तावको प्रस्तावकका रुपमा आफूले प्रतिगमनलाई रोक्न भूमिका खेलेको र नेपाली जनताको आवाजलाई आत्मसाथ गरेको शाहीले दाबी गरेका छन । उनले भने–‘म जनताको पक्षमा उभिएको छु, पार्टीले कारवाही गरे भोग्न तयार छु, तर यो प्रस्ताव फिर्ता लिन्न । पार्टी अध्यक्ष प्रचण्डले त के, यमराजले नै भने पनि म यो प्रस्ताव फिर्ता लिन्न । बरु मर्न तयार छु ।’

पूर्व जनमुक्ति सेनाका कमाण्डरहरु सधैं पार्टी अध्यक्ष प्रचण्डको साथमा रहने गरेको सांसद शाहीले बताएका छन । उनले भने–‘अहिलेसम्म अध्यक्षको बचाउ हामी (पूर्वकमाण्डर) हरुले नै गर्दै आएका छौं । बादल, विप्लव कसैले पनि अध्यक्षको बचाऊ गरेनन, हामी नै हौं, हेडक्वार्टरको रक्षा गर्ने ।’

सांसद शाहीले लोकमानसिंह कार्की ठूलो षड्यन्त्रको तानाबाना बुन्नकै लागि विदेश गएको दाबी गर्दै भने–‘उनी घुमघाम र रमाइलो गर्नका लागि विदेश गएकै थिएनन, भारत पुगेर उनले प्रचण्ड, ओली र शेरबहादुरसम्मलाई समात्ने अनि अस्थिरता सिर्जना गरेर संविधान असफल पार्ने योजना बनाएका थिए ।

शाहीले भने–‘हामी र एमालेका युवा साथीहरु मिलेर लोकमानको योजनालाई असफल पारिदियौं, अब संविधानको कार्यान्वयन पनि हुन्छ, राष्ट्रिय सहमति पनि हुन्छ ।’ लोकमान भारतबाट र्फकनु र यता वनकालीमा भारतीय नेता आदित्य सहित ज्ञानेन्द्र सार्वजनिक भाषणमा उत्रनु संयोगमात्रै नभएको शाहीले बताए ।

लोकमानसिंह कार्कीविरुद्ध रातारात व्यवस्थापिका संसदमा महाअभियोगको प्रस्ताव दर्ता गर्नुपूर्व माओवादी केन्द्रका यी युवा नेतालाई धेरैले चिनेका थिएनन् । तर, यतिबेला उनी सबैका लागि चासो र चर्चाका पात्र बनेका छन् । डा. गोविन्द केसीले सांसदहरुलाई निरीह र कायरको संज्ञा दिइरहेकै बेला आखिर कहाँबाट उदाए यी महेन्द्र बहादुर ? अहिले धेरै मानिसमा जिज्ञासा छ ।

माओवादीका युवा नेता शाही कालीकोट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन । उनको जन्म ०३३ साल माघ १५ गते कालीकोटको नानीकोट गाविस–८ मा भएको हो । विवाहित शाहीका दुई छोरा र एक छोरी छन् । विद्यालय पढ्दा पढ्दै ९÷१० वर्षकै उमेरदेखि माओवादीमा लागेका शाही ०५२ सालदेखि नै भूमिगत भए ।

व्यवस्थापिका संसदले प्रकाशित गरेको सांसदहरूको परिचय पुस्तिकामा शाही ०४२ सालदेखि नै माओवादीमा लागेको उल्लेख छ । जनयुद्धमा लागेका कारण एसएलसीभन्दा माथि अध्ययन गर्ने समय नपाएका शाहीले जनयुद्ध कालमा डिभिजन कमाण्डरसम्म बनेर युद्धको नेतृत्व गरे । दोस्रो संविधानसभामा प्रत्यक्ष चुनाव जितेर सांसद बनेका उनी बाहिर चर्चामा देखिने भन्दा पनि ‘रिजर्भ’मा बस्न बढी रुचाउँछन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS