स्यालले टोकेर मृत्यु, सहिद घोषणा गर्न माग
स्यालले टोकेर उपचारको क्रममा मृत्यु भएकालाई सहिद घोषणा, क्षतीपूर्ति र घाइतेहरुको उपचारको माग गर्दै बिहीवार रौतहटमा पीडितका आफन्त र स्थानीयबासीले प्रर्दशन गरेका छन । असोज १८ गते स्यालले टोकेर घाईते भएका गरुडाको महम्दपुरका बसन्त यादवको कार्तिक ६ गते उपचारकै क्रममा मृत्यु भएको थियो ।
महम्दपुर टोलमा स्यालले टोकेर रेविजको लक्षण देखिएका ५५ बर्षका रामफल महतोलाई गौर चन्द्रनिगाहपुर सडक खण्डको गरुडा चोकमा राखेर स्थानीयले प्रर्दशन गरेका थिए । पीडित पक्ष र स्थानीय प्रशासन बीच १९ जना घाइतेलाइ थप उपचारका लागि काठमाडौं पठाउने सहमति भएपछि सडक सुचारु भएको थियो ।
स्यालले टोकेर घाइते भएका सबैलाई बिहीवार साँझ १२ वटा एम्वुलेन्समा राखेर उपचारका लागि पुन; काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिएका छ । स्यालले टोकेर मृत्यु भएका बसन्त यादवको विषयमा र रेविज देखा परेका गम्भीर बिरामी रामफल महत्तोको विषयमा सरकारी निकायले जवाफ दिनुपर्ने माग स्थानीयले राखेका छन् ।
मृतक यादव महम्दपुर माविका शिक्षक थिए । गत असोज १८ गते गरुडा नगरपालिकाको बिभिन्न टोलका २५ जनालाई स्यालले टोकेको थियो । स्यालले टाउको र शरीरमा टोकेर चोट लागेकालाई जिल्ला अस्पताल गौरले थप उपचारका लागि काठमाडौं रिफर गरेको थियो ।
हात र खुट्टामा टोकेर घाइते भएकाहरुले गौर अस्पतालमा नै एन्टी रेविज भ्याक्सिन लगाएको भएपनि एकजनाको मृत्यु भएको र घाइतेलाई रेविजको लक्षण देखा परेपछि स्थानीय त्रसित बनेका छन । काठमाण्डौमा उचित उपचार नपाएको गुनासो बिरामीहरुले गरेका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्