सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बंगला हुँदाहुँदै राज्यको ढुकुटीबाट घरभाडाको पैसा

भीमसेनदास प्रधान काठमाडौं क्षेत्र ६ बाट निर्वाचित सांसद हुन् । उनी काठमाडौं महानगरपालिका–२७ का स्थायी बासिन्दा हुन् । २०७४ भदौ १९ मा रक्षामन्त्रीको हैसियतमा उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार काठमाडौंमा उनको सगोलमा घर छ ।

उनले २०७४ फागुनयता नियमित घरभाडा लिइरहेका छन् । संसद् सचिवालयले प्रधानलाई मासिक घरभाडा उनकै बैंक खातामा पठाइदिने गरेको छ । ‘ज्याठामा मेरो सगोलको घर छ । रक्षामन्त्री हुँदा सुरक्षाकर्मी राख्ने ठाउँ नभएपछि क्षेत्रपाटीस्थित सासूको घरमा बसें । सासूलाई अन्यत्र सार्नुपर्ने भएकाले मन्त्री हुँदादेखि भाडा लिइरहेको छु,’ उनले भने, ‘मैले सरकारबाट लिएको भाडा सासूलाई तिर्ने गरेको छु ।’

घरभाडा लिने सांसदको सूचीको २३५ नम्बरमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नाम छ । संविधानसभा अध्यक्ष र रूपान्तरित संसदको सभामुख हुँदा उनी बालुवाटारस्थित सरकारी निवासमा बसे । बालुवाटारस्थित रसियन दूतावासपछाडि घर भाडामा लिएर बसेका उनले केही समयपछि त्यही घर किने । अहिले पनि त्यहीं बस्छन् ।

इलाम–२ बाट निर्वाचित नेम्वाङले यसबारे भने, ‘सचिवालयले काठमाडौंमा घर छ कि छैन भन्ने फाराम भराएको थियो । बैंकबाट ऋण लिएर किनेको भनेर लेखेको छु । सचिवालयले के र्गयो, मलाई थाहा छैन । के भएको रहेछ म बुझ्छु ।’

राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो पनि घरभाडा लिने सांसदमा पर्छन् । स्वास्थ्यमन्त्री हुँदा २०६८ कात्तिक २८ मा सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनले काठमाडौंमा घर भएको उल्लेख गरेका थिए । धनुषा–३ बाट निर्वाचित उनले भने, ‘काठमाडौंमा मेरो घर छ तर पार्किङको समस्या छ ।’

संसद् सचिवालयले उपलब्ध गराएको विवरणमा घरभाडा लिने सांसदको सूचीमा उनको नाम १७१ नम्बरमा छ । राजपाकै लक्ष्मणलाल कर्ण पनि घरभाडा लिनेमा पर्छन । पर्सा क्षेत्र ४ बाट निर्वाचित उनको बाँसबारीमा अपार्टमेन्ट छ । तपाईं काठमाडौंमा भाडामा कि आफ्नै घरमा बस्नुहुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘बाँसबारीमा आफ्नै घर छ ।’

संसद्मा प्रतिनिधित्व गर्ने अर्काे ठूलो दल संघीय समाजवादी फोरमकी नेतृ सरिता गिरी पनि घरभाडा लिने सूचीमा छिन् । उनको विशालनगरमा घर छ । कांग्रेसका समानुपातिक सांसद उमेश श्रेष्ठको नाम भाडा लिनेको सूचीमा छ । उनी झम्सीखेलस्थित आइडल मोडल स्कुलसँगैको घरमा बस्छन ।

कांग्रेसकै समानुपातिक सांसद चित्रलेखा यादव मासिक घरभाडा बुझ्छिन् । पूर्वशिक्षामन्त्री यादव ललितपुर, भैंसीपाटीमा बस्छिन् । उनले शिक्षामन्त्री हुँदा सार्वजनिक गरेको सम्पत्ति विवरणमा ‘ललितपुरमा घर रहेको’ उल्लेख गरेकी छन् ।

नेकपा सांसद योगेश भट्टराईको अनामनगरमा घर छ । उनको नाम पनि घरभाडा लिनेको सूचीमा छ । भट्टराईले सचिवालयबाट भाडा नलिएको दाबी गरे । ‘मेरो काठमाडौंमा घर छ, यही विवरण मैले संसद् सचिवालयमा दिएको छु,’ उनले भने, ‘मैले घरभाडाबापत पैसा लिएको छैन ।’ संसद् सचिवालयको अभिलेखमा भने २०७५ असोज महिनासम्म घरभाडा लिने सांसदको सूचीमा भट्टराईको नाम १६१ नम्बरमा छ ।

कांग्रेसका समानुपातिक सांसद दिव्यमणि राजभण्डारीको काठमाडौंमा ‘नेवा भिल्ला’ छ । व्यापारीका रूपमा चिनिएका राजभण्डारीले तिहारअघि यही घरमा चियापानसमेत गरेका थिए । संसद् सचिवालयको विवरणमा उनको नाम घरभाडा लिने सांसदको सूचीमा छ ।

भाडा लिने सूचीमा नेकपाकी पम्फा भुसालको नाम पनि छ । ललितपुरको कुसुन्तीमा उनको घर छ । उदयपुर–१ बाट निर्वाचित कांग्रेस नेता नारायण खडकाले सहरी विकासमन्त्री हुँदा २०७१ पुस ५ मा सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार काठमाडौं, भद्रकालीमा उनको घर छ । संसद् सचिवालयको अभिलेखअनुसार २०७५ असोजसम्म उनले पनि घर नभएको भनेर मासिक घरभाडा लिने गरेका छन् ।

सचिवालयका अनुसार नेकपाकी गोमा देवकोटा, नवीना लामा, यज्ञराज सुनुवार, रामकुमारी झाँक्री, रामेश्वर राय यादव पनि घरभाडा लिनेको सूचीमा पर्छन् । उनीहरूमध्ये देवकोटा र लामाको पेप्सीकोलामा घर छ । सुनुवार र यादवको इमाडोलमा, झाँक्रीको शंखमूलमा घर छ ।

यसैगरी कांग्रेसका कर्मा घले, रामबहादुर बिष्ट, बहादुरसिंह लामा काठमाडौंमा घर भए पनि नियमित घरभाडा लिनेमा पर्छन् । हुम्ला १ बाट निर्वाचित स्वतन्त्र सांसद छक्कबहादुर लामाको काठमाडौंमा घर छ । उनले पनि २०७५ असोजसम्म संसद् सचिवालयबाट घरभाडा लिइरहेको विवरणबाट देखिन्छ ।

काठमाडौं, सुकेधारामा घर भएका नेकपाका दलबहादुर रानाले घरभाडा लिइरहेको देखिन्छ । उनी पाल्पा क्षेत्र १ बाट निर्वाचित हुन् । दोलखाका नेकपा सांसद पार्वत गुरुङको वसुन्धरामा घर छ । उनको नाम पनि मासिक घरभाडा लिने सांसदको सूचीमा छ ।

अर्का उदाहरण हुन्, नेकपाकै समानुपातिक सांसद मोतीलाल दुगड । भाडामा बस्ने सांसदलाई आवासको आवश्यकता किन छ भन्नेबारे उनले संसद्मै भनेका थिए, ‘मेरो त नक्सालमा घर छ । जो माननीय भाडामा बस्नुहुन्छ । उहाँहरूका धेरै पीडा छन् । त्यसैले सांसद आवास जरुरी देख्छु ।’

मासिक घरभाडा लिनेमा कांग्रेस सांसद अमरेशकुमार सिंह पनि छन् । उनको भैंसेपाटीमा घर छ । कांग्रेस सांसद किशोरसिंह राठोरको बालुवाटारमा घर छ । उनले मासिक घरभाडा लिइरहेको सचिवालयको विवरणबाट देखिन्छ ।

संसद्मा सरकारको समेत चर्को विरोध गर्ने मकवानपुर–२ बाट निर्वाचित नेकपा सांसद विरोध खतिवडाले ललितपुरमा घर रहेको बताएका थिए । सचिवालयको सूचीअनुसार भने उनी मासिक घरभाडा बुझ्छन् ।

संसद् सचिवालयका सूचना अधिकारी केशव अर्यालको भनाइमा ‘कांग्रेसका कर्मा घले, नारायण खडका, दिव्यमणि राजभण्डारी र बहादुरसिंह लामाको राजधानीमा घर भएकाले पैसा फिर्ता गर्ने प्रक्रिया अघिबढेको छ ।’

अर्यालका अनुसार नेकपाका सुवासचन्द्र नेम्वाङ, पार्वत गुरुङ, गोमा देवकोटा, फोरमकी सरिता गिरी र स्वतन्त्र सांसद छक्कबहादुर लामाले पनि यसअघि लिएको घरभाडा फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन् ।

सचिवालयको एक सूत्रको भनाइमा ‘सूचनाको हक प्रयोग गरेर २०७५ असोजसम्मको विवरण लिएपछि बदनाम हुने ठानेर सांसदहरू विवरण सच्याउन निवेदन दिन थालेका हुन् ।’

लेखा समितिका सभापति भरत शाहले भदौ २० को बैठकमै ‘मेरो घर गुहयेश्वरीमा पर्छ । एयरपोर्टबाट घरसम्मको दूरी ३ किलोमिटर छ । ट्याक्सीले ७०० रुपैयाँ भाडा लिन्छ’ भन्ने मन्तव्य राखेका थिए ।

विशेष समयमा उनले दिएको मन्तव्य अहिले पनि संसदको रेकर्डमा छ । संसद् सचिवालयको विवरणले चाहिँ शाहले घरभाडा लिइरहेको देखाउँछ । उनले भने, ‘पुरानो घर बेचें । नयाँ बन्दै छ । अहिले भाडामा छु ।’

राष्ट्रिय सभा विधायन समितिका सभापति परशुराम मेघी गुरुङको घर भक्तपुर चुनदेवीमा छ । घरभाडा लिनेको सूचीमा उनको पनि नाम छ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्ट भैंसेपाटीस्थित छोराको घरमा बस्छिन । उनले पनि मासिक रूपमा घरभाडा लिएको देखिन्छ ।

संसद् सचिवालयका अनुसार संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा) का ३०८ जनाले आवास सुविधा लिने गरेका छन् । यसमध्ये ७९ जनाले ‘घर भएको’ उल्लेख गरेर मर्मत खर्चबापत मासिक ९ हजार लिने गरेका छन् ।

२२९ जनाले घरभाडाबापत मासिक १८ हजार लिन्छन् । विवरणबाट धेरै सांसद राजधानीमा डेरामा बस्ने गरेको देखिन्छ । सचिवालयका अनुसार आवास खर्चबापत मात्रै मासिक ४९ लाख २६ हजार ५९३ रुपैयाँ खर्च हुन्छ ।

मन्त्री क्वार्टरमा बसेर पनि घरभाडा
सरकारी निवासमा बस्ने मन्त्रीका श्रीमती सांसद पनि छन् । उनीहरू पनि घरभाडा लिने सूचीमा छन् । वर्षमान पुन जलस्रोतमन्त्री हुन् । पूर्वसभामुख समेत रहेकी उनकी श्रीमती ओनसरी घर्ती नेकपाकी सांसद हुन् । श्रीमान्सँगै सरकारी निवासमा बसे पनि उनले संसद् सचिवालयबाट घरभाडा लिइरहेको अभिलेखबाट देखिन्छ ।

त्यस्तै वन तथा वातावरणमन्त्री शक्ति बस्नेत मन्त्रीक्वार्टर पुल्चोकमा बस्छन् । उनकी श्रीमती सत्या पहाडीले मासिक रूपमा घरभाडा लिने गरेको विवरणबाट देखिन्छ । ओनसरी र पहाडी दुवै प्रतिनिधिसभा सांसद हुन् ।

संसद् सचिवालयको अभिलेखअनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका विजयकुमार गच्छदार, प्रदीप गिरी, राजपाका महन्थ ठाकुर, महेन्द्रराय यादव भाडाको घरमा बसिरहेका छन् ।

नेकपाका प्रमुख सचेतक देव गुरुङ, अग्नि सापकोटा, घनश्याम भुसाल, छविलाल विश्वकर्मा, हरिबोल गजुरेल, राधा ज्ञवाली, मुकुन्द न्यौपाने, वसन्त नेम्वाङ, खगराज अधिकारी, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु साह घर नहुने सूचीमा पर्छन् ।

कांग्रेसकी सचेतक पुष्पा भुसाल, उमाकान्त चौधरी, पद्मनारायण चौधरी, मोहम्मद आफ्ताव आलम, सीतादेवी यादव, नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, उद्योग तथा वाणिज्य र उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल भाडाको घरमा बस्ने सांसदमा पर्छन् ।

(खोज पत्रकारिता केन्द्रको सहयोगमा) कान्तिपुरबाट

फेसबुकबाट कमेन्ट गर्नुहोस्