खुला दिसापिसाव गर्नेको ड्रोन क्यामेराले निगरानी
कटहरी गाउँपालिकाका तीनवटा वडामा ड्रोन क्यामेराबाट खुला ठाउँमा दिशा पिसाव गर्नेहरुको निगरानी गर्न सुरु गरिएको छ । छिमेकी वडाहरू खुला दिसामुक्त भइसक्दा पनि वडा नम्बर २, ३ र ४ खुला दिसामुक्त हुन नसक्दा ड्रोन क्यामेराबाट निगरानी राख्न सुरु गरिएको हो ।
शुक्रबारदेखि शुरू गरिएको उक्त अभियानमा जिल्ला प्रहरी कार्यालय मोरङले साथ दिने भएको छ । शुक्रबार बिहान दुई घण्टा कटहरीको जुडीखोला किनारमा दिसा गर्न आउनेलाई ड्रोन क्यामेराले निगरानी समेत गरेका थिए ।
ड्रोन क्यामेरा उडेको देखेर कटहरीको जुडीखोला किनारमा बिहानै दिसापिसा गर्न पुगेकाहरू भागाभाग भएको कटहरी–४ का वडाध्यक्ष मन्टुन शेखले बताएका छन् । खुला ठाउँमा शौच गर्नेहरूलाई पनि गाउँपालिकाले समातेर फूलमाला, अबिर लगाइदिएर सम्मानसमेत गरेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कटहरीलाई खुला दिसामुक्त अभियानमा सघाउ र्पुयाउनका लागि शुक्रबार बिहान ५ देखि ७ बजेसम्ममा जुडीखोला क्षेत्रमा ड्रोन क्यामेराले निगरानी गरेको थियो ।

ड्रोन क्यामेराको निगरानी सकिएपछि जिल्ला समन्वय समिति प्रमुख नरेश पोखरेल, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठ लगायतका व्यक्तिहरूले खुला दिसामुक्तको ब्यानरसहित कटहरीको वडा नं.४ मा जनचेतनामूलक र्याली प्रदर्शनसमेत गरेका थिए ।
घरघरमा खुला दिसाबाट हुने असरबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्दा पनि खुला ठाउँमा शौच गर्न नछाडेपछि सम्मान गर्ने अभियान सुरु गरेको कटहरी गाउँपालिकामा खुला दिसामुक्त अभियानका सहयोगी संस्था मातृभूमि महिला समाज मोरङका शान्ता दाहालले बताइन् ।
कटहरीमा अब शौचालय नबनेका घरमा निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कार्कीले बताए । उनले शौचालय निर्माणमा भएकाले ढिलाइले मंसिर २९ गते गाउँपालिकालाई खुला दिसामुक्त गर्ने निर्णय असफल भएको बताए ।
गाउँपालिकाका प्रमुख रामकुमार कामतले पुस पहिलो साताभित्र सम्पूर्ण घरमा शौचालय निर्माण सकेर खुला दिसामुक्त गाउँपालिका घोषणा गर्ने तयारी रहेको जानकारीसमेत दिएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्