सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बिदेशमा कमाएको पैसा विद्युतमा अनिवार्य लगानी

उर्जा मन्त्रालयले विदेश पैसा कमाउन गएकाहरुले पठाउने रेमिट्यान्सको १० प्रतिशत रकम विद्युत आयोजनामा खर्च गर्नैपर्ने नीति बनाउने भएको छ । मन्त्रालयले ल्याउन लागेको नयाँ नीतिअनुसार वैदेशिक रोजगारीमा गएका प्रत्येक नेपाली नागरिकले कमाएको १० प्रतिशतसम्म रकम विद्युत आयोजनामा खर्च गर्नुपर्नेछ ।

उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यो व्यवस्था अनिवार्य हुने जानकारी दिएका हुन् । मन्त्री शर्माले काठमाडौं उपत्यकामा सकभर लोडसेडिङ नगर्ने गरी तयारी थालिएको तर लोडसेडिङ्गमुक्त घोषणा भने नभएको बताएका छन ।

मन्त्री शर्माले काठमाडौंको विद्युत वितरण प्रणालीमा देखिएका समस्याहरु हटाउने काम भइरहेको बताउँदै उपत्यकालाई लोडसेडिङमुक्त बनाउने योजनालाई सफल बनाउन थप गृहकार्य भइरहेको भने जानकारी गराएका छन ।

लोडसेडिङ अन्त्यको घोषणा अहिले नै गर्न नसकिने भन्दै मन्त्री शर्माले जनतामा अहिले जागेको आशालाई कायम राख्न भने अधिकतम् प्रयत्न गर्ने उल्लेख गरेका छन । अब नदीमा पानीको बहाब कम हुँदै जाने भएकाले लोडसेडिङलाई कम गर्ने चुनौति रहेको भन्दै उनले वैकल्पिक उपायहरुको खोजी सुरु गरिएको बताए ।

मन्त्रालयमा फाइल अड्काएर राख्ने काम अहिले नगरिएको बताउँदै उनले उर्जा संकट निवारणका लागि हरसम्भव प्रयत्न गरिने पनि जनाएका छन । मन्त्री शर्माले विद्युत चुहावट रोक्न युवा र स्थानीयलाई सहभागी गराएको र धेरै सुधार भएको बताएका छन् ।

यस्तै मन्त्री शर्माले विद्युत व्यवस्थापनको काम गर्न विद्युत प्राधिकरणको पुनर्संरचना गर्ने काम थालेको बताएका छन् । मन्त्री शर्माले जनताको दैनिकी लोडसेडिङ मुक्त बनाउनु नै आफ्नो मुख्य लक्ष्य भएको बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS