सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सस्तो ऋण लिन बैंक जानुस्, नदिए उजुरी गर्नुस्

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले घोषणा गरेको सस्तो व्याजदरको ऋण वित्तीय संस्थाबाट नपाए उजुरी गर्न आग्रह गरेका छन् । बिहीबार पोखरामा लेखनाथ महोत्सवको उद्घाटन गर्दै उनले युवालाई उत्पादनमा जोड्न सस्तो दरमा ऋण दिने भन्दै बैंकले नदिए उजुर गर्न आग्रह गरेका हुन् ।

‘पूँजीगत रुपमा युवालाई उत्पादनमा जोड्ने हो । यसका लागि सस्तो ब्याज अनुदानमा ऋण दिने कुरा गरेको छु । सस्तो ब्याजदरमा ऋण पाउनु भएन भने उजुरी गर्ने ठाउँ पनि हुन्छ,’ अर्थमन्त्री भने, ‘प्रविधिमा जोड्ने, उद्यमशीलताको विकास गर्ने काम पनि हामीले गरिराखेका छौं ।’

अर्थमन्त्री खतिवडाले सरकारले ल्याएको स्किमसँग जोडिन युवालाई आग्रह गरेका छन् । ‘नजिकको बैंक तथा वित्तिय संस्थामा गएर ऋण लिनुहोस् । महिला उद्यमीका लागि पनि सरकारले व्यवस्था गरेको छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘अध्ययन प्रमाणपत्र धितो राखेर लिन चाहनुहुन्छ भने पनि सरकारले त्यसको व्यवस्था गरिसकेको छ ।’

उच्च प्राविधिक शिक्षा पढ्न चाहनेलाई बैंकिङ सुविधा सरकारले दिने उनको भनाइ छ । ‘महोत्सवमा आमाहरुमात्रै देखें, सायद लोग्ने मान्छे वा छोराहरु विदेश होलान्,’ अर्थमन्त्री खतिवडाले भने, ‘हामीले कुनै पनि युवा पलायन हुन नदिने खालको रोजगारमूलक स्मिक ल्याइसकेका छौं ।’

पोखरा आउने सडकको स्तरोन्नति गर्ने प्रक्रिया सरकारले अगाडि बढाएको अर्थमन्त्री खतिवडाले बताएका छन् । कमसेकम ४ लेनको डेडिकेटेड र २ लेनको सर्भिससहितको ६ लेनको सडक स्तरोन्नति गर्न दातृ निकायसँग सम्झौता गर्ने प्रक्रिया अगाडि बढिसकेको पनि उनले जानकारी गराएका छन् ।

अर्थमन्त्री खतिवडाले सम्बोधनका क्रममा पर्यटनका माध्यमबाट धेरैभन्दा धेरै युवालाई रोजगारी मिल्ने पनि बताएका छन् । २०२० सम्म २० लाख पर्यटक ल्याउने सरकारी लक्ष्य सुनाउँदै अर्थमन्त्री खतिवडाले, २०१८ भित्रै १२ लाख पर्यटक भित्रिसक्ने बताए ।

अहिले एकथरीले देशको आर्थिक स्थिति खस्क्यो, विकास भएन भने पनि धेरै विकास र सुधार भइरहेको अर्थमन्त्री खतिवडाले बताएका छन् । नेपालको इतिहासमा पहिलो चोटी ७ प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदर हासिल गर्ने बाटोमा सरकार लागेको उनको भनाइ थियो ।

‘अन्तराष्ट्रिय संस्थाहरु जसजसले नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशतभन्दा माथि जानै सक्दैन भन्थे, उनीहरुले पनि घटीमा पनि ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेका छन्,’ अर्थमन्त्रीले भने, ‘हामीले ७ प्रतिशतभन्दा माथिको स्थिति परिकल्पना गरिराखेका छौं ।’

देशमा अहिले औद्योगिक कच्चा पदार्थको आयात ४० प्रतिशत बढेको खतिवडाले बताए । ‘यो आयात आर्थिक क्रियाकलाप बढेका कारण भएको हो । लगानी बढेर हो । विद्युत आयोजना छिटो हुन थालेर हो,’ अर्थमन्त्री खतिवडाले भने, ‘आर्थिक क्रियाकलाप विस्तार हुँदै जाँदा कर्जाको पनि खपत बढ्ने हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्