झापामा नेकपा नेता गायव, भारत गएको सिसिटिभि
बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय, काँकरभिट्टालाई एउटा सूचना आयो–‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता दीपक भण्डारी सम्पर्कविहीन भए ।’
देशभर बलात्कार, अपहरण, हत्या जस्ता जघन्य अपराधको ग्राफ बढिरहेका बेला आएको यो सूचनाले प्रहरी अधिकारीहरु झस्किए । निर्मला पन्त हत्या प्रकरणमा पीडित परिवारको सूचनामाथि नजरअन्दाज गर्दा प्रहरीकोे साख गिरेको ताजै छ ।
त्यसैले जिल्ला प्रहरी कार्यालय झापाले एउटा विशेष टोली नै भण्डारीको खोजीमा खटायो । मेचीनगरस्थित घरबाट बिहान विना सूचना निस्किएका नेता भण्डारी बेपत्ता भएका थिए । उनी एमालेका पूर्वनगर अध्यक्षसमेत हुन् ।
‘एक्कासी नेता हराएको सूचना आएपछि हामीले तत्काल खोजी तीब्र पारेका थियौं’, टोलीका एक सदस्यले भने, ‘तर, केही पत्ता लागेन ।’ रातभर प्रहरीले अनुसन्धान र्गयो । कुनै उपलब्धी हात लागेन ।
भण्डारीको मोवाईल, घडी लगायत सबै घरमै थियो । बिहीबार भने प्रहरीले गतिलो सुराक हात पार्यो, काँकरभिट्टाको सीमा क्षेत्रमा राखिएको सीसी टीभी फुटेजमा भण्डारी देखिए ।
भिडियोमा उनी एक्लै लुरुलुरु हिँड्दै सीमा पारि पुगेको देखिन्छ । अनुसन्धान अधिकारीहरुले फुटेजको विश्लेषण गरे । भण्डारी कुनै हतारोमा थिएनन् । न त कोही उनको साथमा थियो । जसले घटना सोचेजस्तो गम्भीर नभएको संकेत गथ्र्यो । तर, मान्छे नभेटिउञ्जेलसम्म नजरअन्दाज गरिहाल्न पनि मिलेन ।

‘सीसी टीभीको विश्लेषणले जे संकेत गरे पनि हामी गम्भीर भएर अनुसन्धान गरिरहेका छौं’, अनुसन्धानमा खटिएका एक कनिष्ठ अधिकारीले भनेका छन्– ‘भारतमा उनी जान सक्ने सम्भावित ठाउँमा खोजी जारी राखेका छौं ।’
यति मात्र होइन, सीमा क्षेत्रका पसले र अन्य व्यक्तिहरुसँग सोधपुछ गर्दै जाँदा दिउँसो उनलाई त्यहाँ देख्ने मानिसहरु पनि भेटिए । उनीहरुले भण्डारीसँग गफ पनि गरेको सुनाए । अनुसन्धानका क्रममा भण्डारीको लेनदेनसम्बन्धी समस्या पनि देखिएको छ ।
सीसी टीभी फुटेजमा एक्लै हिँडेर सीमा कटेको देखेपछि प्रहरी एक कदम ब्याक भने पक्कै भएको छ । तर, यो मान्न अधिकारीहरु तयार छैनन् । अहिलेसम्म न त फिरौती माग्दै कुनै फोन आएको छ, न त अन्य कुनै माग नै राखिएको छ । आखिर भण्डारी कहाँ छन् त ?
फेसबुकबाट कमेन्ट गर्नुहोस्