सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पौडेल र मबिच ‘डिप लभ’वाला सम्बन्ध छः देउवा

नौ दिनअघि काठमाडौंको प्रदर्शनी मार्गस्थित सभागृहमा नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन हुँदा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुई ध्रुवजस्तै थिए ।

आफ्नो पार्टीलाई कांग्रेसमा गाभेर उपसभापति बनेका विजयकुमार गच्छदारले उद्घाटन समारोहमा मन्तव्य दिँदै गर्दा उनीहरूलाई मिल्न आग्रह गरेका थिए । पार्टीभित्रै आ–आफ्ना गुट चलाएका दुवै नेतालाई गच्छदारले हात मिलाउन अनुरोध गरे ।

उनीहरूले वास्ता गरेनन् । गच्छदारले फेरि पनि अनुरोध गरे। निकै जोड गरेपछि बल्लबल्ल देउवा र पौडेलका हात उठे । दुवैले सँगै हात उचाले । कार्यकर्ताले ताली बजाए । मन नमिलेका दुई नेताबीच हात मिलानपछि महासमिति बैठक सुरू भयो ।

आइतबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा समापन समारोह हुँदा भने परिस्थिति फेरिइसकेको थियो । महासमितिले कांग्रेसमा पदाधिकारी संख्या बढाएर १४ र्पुयायो । कोषाध्यक्षबाहेक अरू पदमा अधिवेशनबाटै चुनिएर आउनुपर्ने विधान पास भयो । कांग्रेसले ८५ सदस्यीय केन्द्रीय कार्यसमिति बढाएर १७१ सदस्यीय बनायो ।

यति मात्र हैन, नौ दिने रस्साकस्सीले सभापति देउवा र वरिष्ठ नेता पौडेलबीचको झगडा परालको आगो सावित भयो । पार्टीभित्र देउवा इतर गुटकी सुजाता कोइरालाले सुरूमै सभापति देउवाको प्रशंसामा दुईचार शब्द खर्चिइन् ।

उनले भनेकी थिईन–‘शेरबहादुरजीले चुनाव गराउनुभयो । धेरै चुनौती थियो । मानिसहरु चुनाव हुँदैन भन्दै थिए । कांग्रेस हार्छ भन्ने थाहा थियो । प्रजातन्त्रलाई बचाउन पार्टी हार्छ, तर देश हार्न हुन्न । हाम्रो मनोबल टुट्न हुन्न । शेरबहादुरजीले पार्टी विधान बनाएर पनि राम्रो गर्नुभयो । राम्रोलाई राम्रो भन्न नडराऔं ।’

महासमिति बैठकले गुटलाई भन्दा एकतालाई बलियो बनाएको उनले दाबी गरिन् । उनले भनिन्–‘विपक्षीले हामीलाई हेपेका छन् । विपक्षीले तल्लो स्तरमा झरेर आलोचना गर्दा हामीलाई लाज भएको छ । हाम्रो एकताले विपक्षीलाई परास्त गर्नुपर्छ ।’

सभापति देउवा बोल्नुअघि वरिष्ठ नेता पौडेलको बोल्ने पालो आयो । उद्घाटन समारोहमा देउवासँग हात मिलाउनसमेत दकस मानेका उनले ठट्यौलो पारामा भाषण सुरू गरे ।

पौडेले मुसुमुसु हाँस्दै भने–‘कतिपयले महासमिति बैठक भाँडेर यही बेला हामी दुवै (देउवा र पौडेल) लाई एकै खाल्डोमा हाल्ने सोचेका थिए । विधान बनेपछि हाराए । विश्वकै नमूना विधान हामीले बनायौं । तराई, पहाड, हिमालमा गएर गर्वसाथ यस्तो विधान बनायौं भन्ने बेला आएको छ ।’

कर्मशील कांग्रेस बनाउन अब बल्ल योग्यताको प्रदर्शन गर्ने उनले बताए । ‘साथीहरू लुरेलारे कांग्रेस होइन, अब क्षमतावान, कर्मशील कांग्रेस बनाउनुपर्छ,’ उनले भने, ‘अब योग्यता प्रदर्शन गर्छौं । बलियो संगठन बनाउँछौं ।’

कार्ययोजना बनाएर संगठन विस्तार गर्ने हो भने कम्युनिष्टले कांग्रेसलाई हराउन नसक्ने पौडेलको दावी छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले आश्वासन दिएर जनता भुलाएको तर काम केही नगरेको भन्दै पौडेलले सरकारको पनि आलोचना गरे ।

सभापति देउवाले त ठट्टामा पौडेललाई पनि उछिने । ‘पार्टी र रामचन्द्र पौडेलको तर्फबाट धन्यवाद,’ उनले यसो भनिसक्न पाएका थिएनन् बैठक स्थल हाँसोले गुञ्जियो । देउवाले पौडेलसँग आफ्नो ‘इमोसनल एट्याचमेन्ट’ रहेको बताए ।

‘रामचन्द्रजीसँग इमोसनल अट्याचमेन्ट छ । डिप लभ गर्ने केटाकेटीमा जस्तो अट्याचमेन्ट हुन्छ, त्यस्तै हाम्रो पनि छ,’ उनले भने । त्यसपछि उनी आफैं हाँसे । हलभरि हाँसो चल्यो ।

आफ्नो र पौडेलबीचको सम्बन्धले झगडा गराइराख्ने तत्वलाई परास्त गरेको उनले बताए । ‘प्रेसमा कांग्रेसलाई नचिनेकाहरूले गरेका हल्ला मेरो र पौडेलजीको सम्बन्धले असत्य सावित गरिदियो,’ देउवा–पौडेलबीच बोलचाल पनि छैन भन्ने खबरप्रति लक्षित गर्दै देउवाले भने, ‘नेपाली कांग्रेसको एकता नचाहने, झगडा गराइराख्ने तत्वहरू आज परास्त भए ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्