निर्मला प्रकरणका दोषी भनिएका प्रदिप पनि रिहा
निर्मला हत्या प्रकरणका मुख्य दोषी भन्दै प्रहरीले पछिल्लो पटक प्रस्तुत गरेका युवा प्रदीप रावल थुनामुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको हो ।
प्रहरीमाथि अभद्र व्यवहार गरेको अरोपमा उनीमाथि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले मुद्दा चलाएको थियो । अभद्र व्यवहारका विषयमा अनुसन्धान गर्न उनीमाथि म्याद थप गरिएको भए पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीमाथि निर्मला हत्या प्रकरणमा अनुसन्धान गरिरहेको थियो ।
उनीमाथी प्रहरीले ४ पटक म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो । उनलाई पक्राउ गरेपछि पहिलो पटक ७ दिन, त्यसपछि ३ पटक ५ दिन म्याद थप भएको थियो ।
![](https://everestwall.com/wp-content/uploads/2018/10/nirmala-panta-kanchanpur-kanda-1024x775.jpg)
उनले बयानमा निर्मलाको हत्यामा संलग्न भएको स्वीकारेको प्रहरीले दाबी गरेको थियो र केही मिडियामा आफै सुचना चुहाएको थियो । रावलले साविती बयान दिएको खबर पाएलगत्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वयम् पनि राति नै उनको बयान लिन सीआईबी पुगेका थिए ।
यसअघि रावलको बयानका आधारमा नियन्त्रणमा लिइएको भनिएको अर्का युवा विशाल चौधरी पनि छुटिसकेका छन् । थुनामुक्त भएपछी उनले प्रहरीले धम्की दिएर आरोप स्वीकार्न लगाएको बताएका थिए ।
यद्यपि, निर्मलाको ‘भजाइनल स्वाव’सँग दुवै जनाको डीएनए मेल नखाएको प्रहरीले नै अनौपचारिक रूपमा बताएको थियो । शंकास्पद भनिएका दुवै जना छुटिसक्दा पनि प्रहरीले उनीहरुको डीएनए रिपोर्ट भने औपचारिक रुपमा अझै सार्वजनिक गरेको छैन । बरु उल्टै भन्न थालेका छन्, ‘सबै कुरा डीएनए मात्र होइन ।’
पछिल्लो समय मुख्य आरोपितका रुपमा नाम चुहाइएका दुई जना साधारण तारेखमा छुट्दा फेरि एक पटक प्रहरी चुकेको छ । यसअघि पहिलोपटक बलियो सबुतबिनै दिलिपसिंह विष्टलाई सार्वजनिक गर्दा प्रहरीमाथिको जनविश्वास गुमेको थियो ।
विशाल र प्रदिप निर्दोष पाइएपछी अब प्रहरीले साँच्चिकै अपराधी पक्रियो भने पनि जनविश्वास नरहने देखिन्छ । रावल र चौधरीलाई पक्राउ परेकै आधारमा रक्षामन्त्री ईश्वर पोखरेलले पनि ‘निर्मलाको हत्यारा पक्राउ परिसक्यो, छिट्टै सार्वजनिक गर्छौं’ भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्