सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

प्रधानमन्त्री ओलीले किन भने आफुलाई ‘चल्लो’

नेकपा संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ४३ नेतालाई कुखुराको चल्लाको संज्ञा दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई हटाउन माग गर्दै हस्ताक्षर बुझाउने नेतालाई उनले चल्लाको संज्ञा दिएका हुन् ।

‘एउटा चल्लोले भुइँमा ठुँगेपछि सबै चल्ला उसको पछि दौडिन्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘दिगम्बर झाको केसमा मेरो मुखमा चारो पर्नु न नपर्नु, सबै चल्ला मेरो पछाडि कुदेर हैरान खेलाए । चल्ला मेरो अघिपछि लागेको लाग्यै गरे ।’

ओलीले सर्वोच्च अदालतमा दायर भएको रिट फिर्ता गरेर फेरि आवेदन दिएपछि उनलाई नियुक्त गरेको प्रष्ट पारेका छन् । ‘रिट फिर्ता गरेर ब्याक भएका झाले फेरि भ्रष्टाचार नगर्लान भन्ने ठानेर नियुक्त गरिएको हो’, ओलीले स्पष्टिकरण शैलीमा भने, ‘तर, आजै उहाँले राजीनामा दिएको जानकारी यहाँहरुलाई गराउन चाहन्छु ।’

नेकपा नेताहरुले भने विवादमा मुछिएका व्यक्तिलाई फेरि नियुक्ति गर्दा गलत सन्देश गएको भन्दै हस्ताक्षर बुझाएको दाबी गरेका छन् । ‘बदनाम मान्छेलाई नराख्नु भनेर हामीले दबाब दिएका थियौँ’, बैठकपछि कुरा गर्दै नेकपा नेतृ रामकुमारी झाँक्रीले भनिन्, ‘त्यसको सुनुवाइ सरकारले गरेको छ । अब सरकारले सही बाटो समाएको महसुस हामीले गरेका छौँ ।’

बैठकमा ओलीले राजनीतिक आन्दोलन सफल हुने तर उपलब्धि संरक्षण नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । ओलीले सांसदलाई सरकारका काम कारबाहीको बारेमा जानकार हुन र विपक्षीले चलाएका निराधार हल्लाको खण्डन गर्न निर्देशनसमेत दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS