सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

पानिजहाज, रेल सबै आउँछ, निराश हुनुपर्दैनः कोमल

राजावादी केही पार्टीमा जाने हल्ला हुँदाहुँदै तत्कालीन नेकपा एमालेमा प्रवेश गरेकी नेकपाकी नेतृ कोमल ओलीले आमजनताले महसुस गर्ने गरी परिवर्तन आउने बताएकी छन् । न्यूज २४ टेलिभिजनसँगको अन्तर्वार्तामा उनले नेकपाले पाएको बहुमतको सही सदुपयोग गर्ने प्रयास भइरहेको बताएकी छिन् ।

उनले भनेकी छिन्–‘नेकपाले जनताको बहुमतको सही सदुपयोग गर्नेछ, जनता निराश हुनु पर्ने कुरै छैन । सरकार सफलताको बाटोमा छ, परिणाम आउन मात्रै बाँकी छ ।’ प्रतिनिधि सभाकी सांसदसमेत रहेकी ओलीले जनताले अनुभूत गर्न सक्ने गरी परिवर्तन आउने दाबी गरेकी छिन् ।

कुराकानीमा उनले भनिन्–‘परिवर्तनको आमजनताले महसुस गर्ने छन् । कोही–कोहीले पानीजहाज किन नआएको, रेल किन नआएको भन्दै प्रश्न गर्छन्, यी सबै आउने क्रममा छन् ।’ वर्तमान सरकारले काम गर्न नसके जनताको कठघरामा उभिने ठाउँ भएको समेत बताइन् ।

राजनीतिमा आउनुभन्दा पहिले नै बेग्लै छवि बनाइसकेकी ओलीले राजनीति देशको मूल नीति बनाउने र देशलाई मार्ग निर्देश गर्ने नीति भएको बताइन् । उनले भनिन्–‘राजनीति भनेको सेवा हो, भावनाले अभिप्रेरित हुनुपर्छ । सानैबाट देशको सेवा गर्ने इच्छा भएको हुनाले देशलाई गति दिनको लागि, दिशा निर्देश गर्नको लागि राजनीतिमा लागेकी हुँ ।’

राजनीति संवेदनशील र चुनौतीपूर्ण कर्म भएको समेत उनले बताइन् । राजनीति पेसा नभएको बताउँदै उनले राजनीतिलाई ‘पेसा’ बनाउन नहुने धारणा राखिन् । उनले भनिन्–‘राजनीति भनेको जो योग्य छ, जसले गर्न सक्छ, उसको योग्यता–क्षमता हेरेर छोटो समयका लागि गर्ने हो, त्यसपछि छाड्ने हो । त्यसैले राजनीतिलाई पेसा बनाउनु हुँदैन । राजनीतिलाई पेसा बनाएर पनि हामी धेरै बिग्रिएका छौँ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS