निर्मला हत्याकाण्डबारे आयो प्रधानमन्त्रीको गम्भिरता
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अन्तरराष्ट्रिय अनुसन्धानकर्ता’लाई बोलाएर भए पनि निर्मला पन्तका हत्यारा पत्ता लगाएरै छाड्ने वचन दिएका छन् । प्रधानमन्त्री ओलीले यस्तो वचनवद्धता नेकपाको स्थायी कमिटी बैठक समक्ष प्रकट गरेका हुन् ।
नेकपा नेता योगेश भट्टराईले अनलाईनखबरसँगको बिशेष कुराकानीका क्रममा भनेका छन्–‘प्रधानमन्त्रीले निर्मला हत्याकाण्डबारे गम्भीरताका साथ कुरा राख्नुभएको छ । आवश्यक प¥यो भने अन्तराष्ट्रिय अनुसन्धानकर्ता बोलाएर भए पनि छानविन गराउँछु भन्नुभएको छ ।’
गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्याराहरु पत्ता लगाउन अहिलेसम्म नेपाल प्रहरी असक्षम ठहरिएको छ । प्रहरीले दोषी पत्ता लगाउन नसक्दा सरकारले शान्ति सुरक्षा प्रत्याभूत गर्न नसकेको भन्दै सरकारमाथि जनस्तरबाट आलोचना भइरहेको छ ।
नेकपाको बैठकमा निर्मला पन्तको घटनालाई लिएर गृह प्रशासनको क्षमतामाथि प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले यसलाई गम्भीरतापूर्व लिएको नेता भट्टराईले जानकारी दिएका छन् ।
यसैवीच सरकारले अब वाइडबडी विमान खरिद प्रकरणमा पनि छानविन कमिटी बनाउने भएको छ । छानविन कमिटी गठनसँगै विमान खरिद कार्यमा संलग्न वायुसेवा निगममा महाप्रवन्धक सुगतरत्न कंसाकार लगायतका कतिपय सरकारी अधिकारीहरु निलम्बनमा पर्न सक्ने देखिएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनले नै विमान खरिद प्रकरणमा अनियमितता भएको ठोकुवा गरिसकेको अवस्थामा अहिले संसदीय समितिले यसबारे अध्ययन अनुसन्धान गरिरहेका छन् । तर, सम्बन्धित मन्त्रालय भने यसबारे अहिलेसम्म निरीह रुपमा प्रस्तुत भइरहेको छ ।
यसै क्रममा बुधबार संसदको हिउँदे अधिवेशन उदघाटनमा मन्तव्य दिँदै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले समेत बाइडबडी विमान खरीद प्रकरणमा छानविन हुनुपर्ने माग गरेका थिए । देउवाले छानविनको माग गरेलगत्तै प्रधानमन्त्री ओली वाइडबडी खरीदबारे छानविनका लागि तयार भएका हुन् ।
यसबारे जानकारी दिँदै नेकपा नेता योगेशले भनेका छन्–‘वाइडबडीका सन्दर्भमा प्रतिपक्षी दलका नेताले संसदमा नै छानविनको माग गर्नुभएको छ, प्रधानमन्त्रीले त्यसो हो भने मैले छानविन गराउँछु भन्नुभएको छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्