काठमाण्डौको तापक्रम १ डिग्रीमा झर्यो, भोली शुन्य
काठमाडौं उपत्यकाको तापक्रम एक डिग्री सेल्सियसमा झरेको छ । आज विहान ५ बजेर ४५ मिनेटमा गरिएको तापक्रमको मापन एक डिग्री सेल्सियस रहेको हो । हिजो एक दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।
आज काठमाडौंको अधिकतम तापक्रम १६ देखि १८ डिग्रीसम्म रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । त्यस्तै, भोलि शून्य डिग्री सेल्सियसमा तापक्रम झर्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ । तर, वर्षाको सम्भावना न्यून रहेको बताइएको छ ।
यसैबीच उच्च भेगमा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले मुलुकभर चिसो बढेको हो । योसँगै हुम्ला, जुम्ला, डडेलधुरा, मनाङ, मुस्ताङ, दोलखा, सोलुखुम्बु, तेह्रथुम, संखुवासभा लगायत जिल्लामा हल्का हिमपात भएको छ ।

पछिल्लो २४ घण्टा यता जुम्लामा सबैभन्दा बढी चिसो छ । त्यहाँको न्यूनतम तापक्रम माइनस ७ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै, दोलखा जिरीको माइनस ४ दशमलब ५ र मुस्ताङ जोमसोमको माइनस २ मापन गरिएको छ । हिमालीसहित पहाडी जिल्लाका उच्च क्षेत्र सेताम्य भएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्