जापानमा नेपाली कामदार लैजान सुरु गर्नेबारे छलफल
जापानमा नेपाली कामदार पठाउने प्रक्रिया सुरु गर्ने सम्बन्धमा सरकारले छलफललाई तिब्र बनाएको छ । जापानको मन्त्रिपरिषद्ले केही समयअघि आप्रवासी कामदार लैजाने सम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै नेपाली कामदार जापान पठाउन द्विपक्षीय छलफल सुरु भएको हो ।
यस विषयमा सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ । भेटवार्तामा कामदार लैजाने प्रक्रियाका बारेमा छलफल भएको थियो ।
जापान रोजगारीका लागि जान आकांक्षीले आधारभूत जापानी भाषा जानेको र जापानी भाषा परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीका अनुसार जापानबाट एक प्राविधिक समूह छिट्टै नेपाल आउने भएको छ ।
जापानी प्राविधिक र नेपाली प्राविधिकको छलफल पश्चात उयपुक्त विधि, प्रक्रिया र संरचना तयार हुनेछ । प्रवक्ता रेग्मीले दुवै देशको पारस्परिक हित अनुकूल हुने गरी संरचना तयार हुने बताएका छन् ।
मन्त्रालय स्रोतका अनुसार यसअघि नै जापानले नेपाली कामदार लैजाने विषयमा अवधारणापत्र पठाइसकेको छ । उक्त अवधारणापत्रमाथि मन्त्रालयका सहसचिवको नेतृत्वको प्राविधिक टोलीले अध्ययन गरिरहेको छ ।
मन्त्री विष्टले जापानमा कामदार पठाउँदा भर्ना र छनोट प्रणालीलाई पारदर्शी र भरपर्दो बनाउने बताएका छन् । योग्यता, क्षमता, सीप र दक्षताका आधारमा प्रतिश्पर्धाका आधारमा नेपाली कामदार छनोट गरी जापान पठाइने उनले जानकारी दिएका छन् ।
उनले जापान रोजगारका नाममा मध्यस्तता र बिचौलियाको पक्षमा आफूहरू नरहेको बताएका छन् । राजदूत साइगोले विधि र प्रक्रियाबारे गृहकार्य गरिरहेको जानकारी दिएका छन् ।
नेपाली श्रमिकलाई पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट लैजान जापान सरकारले पहल थालेको उनको भनाइ थियो । जापानले पाँच वर्षको अवधिमा तीन लाख ४५ हजार विदेशी कामदार लैजाने तयारी गरेको छ ।
जापानले नर्सिङ, सुरक्षा गार्ड, उत्पादनमूलक उद्योग, होटल तथा आतिथ्यता व्यवसाय, कृषि, मत्स्य संकलन, खाद्य प्रशोधन तथा खाद्य आपूर्तिजस्ता १४ वटा क्षेत्रमा आप्रवासी कामदारका लागि खुला गरेको हो ।
जापानले नेपाल, चीन, इण्डोनेसिया, म्यानमार, मंगोलिया, थाइल्यान्ड, फिलिपिन्स, भियतनाम लगायतका देशबाट कामदार लैजाने तयारी गरेको छ । जापानले दोस्रो विश्वयुद्धपछि पहिलोपटक आप्रवासी कामदारलाई खुला गरेको हो ।
जापानमा ठूलो संख्याको जनशक्ति पाको उमेरका भएका कारण जापानमा भइरहेको जनशक्तिको अभाव कम गर्न विदेशी कामदार लैजान लागेको हो । अहिले दक्षिण कोरिया र इजरायलमा मात्र सरकारी तहको संयन्त्रबाट कामदार पठाइन्छ । सरकारी संयन्त्रबाट पठाइएका कामदार तुलनात्मक रूपमा राम्रो सेवा सुविधा र सुरक्षित हुने गरेका छन् ।
इजरायलमा सरकारीस्तरबाट पठाइने भए पनि पछिल्लो समयमा इजरायल रोजगार बन्द छ । जापानले बदमासी गर्ने दलालले चलखेल गर्न नसक्ने खालको प्रावधानसहित कडा छनोट प्रक्रिया प्रस्ताव गरेको बुझिएको छ ।
जापान रोजगारीका नाममा केही म्यानपावर व्यवसायीले पत्रिकामै विज्ञापन गरी राहदानी संकलन र पैसा असुल्न थालेपछि वैदेशिक रोजगार विभागले सचेत गराएको छ ।
विभागका निर्देशक भोलानाथ गुरागाईले रोजगारी प्रक्रियामै रहेकाले कसैलाई पनि विश्वास गरी राहदानी दिन र पैसा बुझाउन नहुनेमा सचेत गराइएको जानकारी दिएका छन् ।
जापानले यसअघि जिट्को अन्तर्गत प्राविधिक प्रशिक्षार्थीका रूपमा आप्रवासी कामदार लैजाने गरेको थियो । तर, त्यो व्यावहारिक नभएपछि सफलता पाउन सकेन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्