सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

दाईजो नल्याएको भन्दै माधुरीको हत्या भएको दाबी

माधुरी वर्णवालको विहे भएको वर्ष दिन नबित्दै घरभित्रै झुन्डिएको अवस्थामा मृत भेटिएपछि उनका माइती पक्षले दाइजोको निहुँमा हत्या गरेको आरोप लगाएका छन् । वीरगन्ज माइती भएकी २६ वर्षीया माधुरीका बावु, आमा र दाजुले उनको हत्या गरेको भन्दै उजुरी दिएका हुन् ।

माधुरीको गत वर्ष नेपालगन्जका व्यवसायी गोपीचन्द वर्णवालका छोरा मनिष वर्णवालसँग मागी बिहे भएको थियो । विहे भएको एक वर्ष नबित्दै गत मंगलबार नेपालगन्जस्थित आफ्नै घरको कोठामा पंखामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

वीरगन्जमा सोमबार पत्रकार सम्मेलन गरेर मृतक माधुरीका बुवा वेदप्रकाश वर्णवाल, आमा पुष्पा वर्णवाल र दाजु दिपेन्द्रले दाइजोको निहुँमा माधुरीको हत्या गरिएको आरोप लगाएका हुन् ।

माधुरीकै पति मनिष वर्णवाल, ससुरा गोपीचद्र वर्णवाल र सासू राजकुमारी देवी विरुद्ध उनीहरुले किटानी जाहेरी दिएका हुन् । माधुरीको शव पंखामा झुण्डिएको अवस्थामा फेला परे पनि मृत्युको कारण आत्महत्या नभएर हत्या नै भएको उनीहरुको जिकिर छ ।

बिहेपछि सुरुका दिनहरुमा सासू र ससुराले दाइजोको निहुमा माधुरीलाई निरन्तर यातना दिँदै आएको पनि माधुरीका बावु वेदप्रकाशको दावी छ । सोही कारण माधुरीको हत्या नै भएको उनले आरोप लगाएका हुन् ।

पत्रकार सम्मेलनमा मृतक माधुरीका बुवा, आमा र दाई लगायतका आफन्त

माधुरीका दाजु दिपेन्द्र भन्छन्–‘माधुरीका पति मनिषको अर्कै महिलासँग अवैध सम्बन्ध रहेको पनि खुलेको छ । अर्कै महिलासँगको सम्बन्ध खुल्ने म्यासेज माधुरीले नै देखेकी थिइन् । त्यसपछि पनि मनिषले माधुरीलाई यातना दिँदैआएका थिए ।’

माधुरीलाई ससुरालका मान्छेहरुले महिनावारी भएर बिरामी भएको अवस्थामा कुटपिट गरेर हत्या गरेको पत्रकार सम्मेलनकै क्रममा उनका परिवारका सदस्यहरुले दावी गरेका छन् ।

दिपेन्द्रका अनुसार हैसियत अनुसार दाइजो नदिएको भन्दै केही महिना यता माधुरीलाई मनिषको परिवारका सदस्यले दुव्र्यवहार र यातना दिँदैआएका थिए । मनिषले आफ्नो अवैध सम्बन्धको प्रमाण मेटाउन माधुरीको ल्यापटप र मोबाइल पनि फुटाइएको आरोप उनीहरुको छ ।

घटनाको अघिल्लो दिन सोमबार माधुरी स्वयंले आफूलाई टेलिफोन गरेर ढोका थुनेर कोठामा राखेको र खाना समेत नदिएको भन्दै रोएको माधुरीकी आमा पुष्पाले पत्रकार सम्मेलनमा बताइन् ।

नेपालगन्जको प्रहरीले जाहेरी लिन नमानेपछि निकै प्रयास गरेर जिल्ला प्रहरी कार्यालय बाँकेमा दिपेन्द्रले जाहेरी दिएको बताएका छन् । उनले माधुरीका पति मनिष, ससुरा गोपीचन्द र सासू राजकुमारी विरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका छन् ।

उजुरीपछि प्रहरीले पोष्टमार्टम गरेको थियो । माधुरीका माइती पक्ष भने ससुराल पक्षले रिपोर्टमा पनि प्रभाव पार्नसक्ने भन्दै गुनासो गरेका छन् । भेरी अस्पताल नजिकै औषधि पसले समेत रहेका माधुरीका ससुराल पक्षले त्यहाँका चिकित्सकलाई मिलाएको भन्दै दिपेन्द्रले गुनासो गरेका छन् ।

बाँकेका प्रहरी उपरिक्षक अरुण पौडेलले भने पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको र अदालतबाट म्याद लिएपछि आरोपितहरुलाई पक्राउ गरिने बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS