सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रगत दिएको निउँमा निर्मलाकी आमालाई कुटपिट

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको लामो समय बितिसक्दा पनि अपराधी प्रक्राउ गर्न नसकेपछि देशभर सरकार र प्रहरी संगठनको चर्काे आलोचना भईहरेको छ ।

यसैबीच निर्मला पन्तको भेजाइनल स्वाबमाथि शंका उब्जिएपछि यर्थाथता पत्ता लगाउनका लागि जाँचको माग गरिएपछि निर्मलाकी आमा दुर्गादेवी पन्तको रगत परिक्षणका लागि दिएकी थिईन् ।

शंकास्पद व्यक्ति र आरोप स्विकारेका व्यक्तिको डिएनए म्याच नभएर अहिलेसम्म हत्यारा पत्ता नलागेपछि सबै प्रमाण नष्ट गरिएकाले एक मात्र प्रमाणका रूपमा रहेको भेजाइनल स्वाब निर्मलाकै हो र होइन भनेर शंका पैदा भएकाले त्यसको निवारणका लागि दुर्गादेवीको रगत जाँच गर्न दिइएको थियो तर निर्मलाका बुवा यज्ञराजले भने रगत दिन अस्वीकार गरेका थिए ।

यसैबीचमा निर्मलाकी आमाले भेजाइनल स्वाब परिक्षणका लागि रगत दिएपछि पन्त परिवारमा द्धन्द सुरु भएको छ । आफुसँग सल्लाह नगरी रगतको नमूना संकलन गर्न दिएको भन्दै दुर्गादेवि पन्तलाई श्रीमान र कान्छी श्रीमती लक्ष्मी पन्तले हातपात गरेका छन् ।

रगतको नमुना मलाई नसोधेर किन दिएको भन्दै यज्ञराज पन्तले घरमै गएर उनलाई कुटपिटको प्रयास गरेका हुन् । धर्नास्थलबाट बिहान सिधै घर पुगेर रगतको नमुना किन दिएको भन्दै यज्ञराजले दुर्गादेवीलाई कुटपिटको प्रयास गरेका हुन् ।

‘रगत किन दिइस्, मलाई फसाउन खोज्ने तँ ? भन्दै कुटपिटको प्रयास भयो ।’ दुर्गादेवीले भनिन्–‘रगत दिएको विषय र राहत बुझ्न खोजेको विषयलाई लिएर घरमै आएर विवाद गरे ।’ राहत बुझेमा घरमै आत्महत्या गर्दिने भन्दै धम्कीसमेत दिएको दुर्गादेवीले बताईन् ।

भीमदत्त नगरपालिका २ उल्टाखाममा घरमा कान्छी श्रीमती लक्ष्मीसहित पुगेका यज्ञराजले दुर्गादेवीलाई कुटपिटको प्रयास गरेको प्रत्यक्षदर्शीले बताए । ‘रगत दिएको विषय र राहत बुझ्न लागेको विषय उठाएर मेरो घाँटी च्याप्न खोजे’ उनले भनिन्, ‘त्यसपछि फुत्केर बाहिर आएपछि कुटपिट गर्न पाएनन् ।’

घरभित्र पसेर भाँडाकुडा बाहिर फाल्दिएको दुर्गादेवीले बताइन् । यज्ञराजले घरमै गएर जेठी श्रीमतीमाथि कुटपिटको प्रयास गरेको खबर पाएपछि कञ्चनपुर प्रहरीले सुरक्षाकर्मी पठाएको थियो । यज्ञराजले भने कुटपिटको प्रयास नगरेको दाबी गरे । उनले भनेका छन्–‘म घरमा सम्झाउन मात्रै गएको हुँ । मैले कुटेको छैन् ।’

निर्मलाकी आमा दुर्गादेवीले भने ६ महिना बितिसक्दासमेत हत्यारा पत्ता नलागेको र न्यायकै लागि भौतारिरहँदा घरपरिवार सञ्चालनमा समस्या भएको भन्दै राहत लिएर केही काम गर्न खोजेको बताएकी छन् ।

‘अनुसन्धानमा सहयोग नै मिल्ला भनेर नै मैले रगत दिएकी हुँ’उनले भनिन्–‘मलाई मेरी छोरीका बलात्कारी र हत्यारा चाहिएका हुन्, जसरी हुन्छ न्याय मिलोस् भनेरै मैले रगतको नमुना दिएकी हुँ ।’

निर्मला पन्तको हत्याबारे अनुसन्धान गरिरहेको प्रहरीले दुईपटक सम्म अभियुक्तका रुपमा प्रस्तुत गरेका व्यक्तिहरु निर्दोस प्रमाणित भएपछी प्रहरी संगठन प्रति जनमानसको विश्वास गुमेको छ । अब वास्तविक हत्यारा पत्ता लागे पनि सर्बसाधारणले त्यसलाई विश्वास नगर्ने वातावरण देखिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्