सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

क्रिस्चियन टोपी लगाएकोबारे श्रृंखला खतिवडाको खण्डन

मिस नेपाल श्रृंखला खतिवडाले चेपाङ गाउँका बच्चाहरुलाई क्रिसमसको टोपी’ बाँडेको तस्वीरको बिषयलाई लिएर ‘मिस नेपाल श्रृंखला खतिवडा क्रिस्चियन धर्म प्रचारमा’ भन्ने आशयका समाचारको खण्डन गरेकी छिन् ।

मिस नेपाल खतिवडाले चेपाङ गाउँका बच्चाहरुलाई क्रिसमसको हेल्वेन टोपी बाँडेको तस्विर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ । कतिपयले उनलाई क्रिस्चियानिटीको प्रवद्र्धन गरेको भनेर आलोचना समेत गरेका छन् ।

मकवानपुरस्थित दुर्गम कैलाश गाउँपालिकामा रहेको चेपाङ गाउँ ताम्लाङमा श्रृंखलाले हेल्थ पोष्ट निर्माण गर्दैैछिन् । त्यसैको सिलसिलामा उनी क्रिसमस आसपासको समयमा सो गाउँ पुगेकी थिइन् । उनले गाउँलेहरुका लागि ब्ल्यांकेट, लुगाफाटासहितका सामग्री लगेकी थिइन् । सार्वजनिक भएको तस्वीर त्यही वितरण गर्दाको हो ।

तस्वीरमा उनी सोलार बत्तीको उज्यालोमा क्रिसमस टोपी लगाएर गाउँका बच्चाहरुसँग रमाइरहेकी देखिन्छिन् । बच्चाहरुसंगै उनले पनि क्रिसमसको टोपी लगाएकी छिन् । यसैलाई लिएर कतिपयले ‘मिस नेपालले क्रिस्चियानिटीको प्रचार गरेको’ भन्दै आलोचना गरेका हुन् ।

तर, श्रृंखलाले भने धर्म प्रचारको उद्देश्यले नभई रमाइलोका लागि बच्चाहरुलाई क्रिसमस टोपी लगाइदिएको बताइन् । उनले भनेकी छिन्–‘थेम्स कलेजका केही विद्यार्थीहरुले बच्चाहरुलाई सानो उपहारका रुपमा ती टोपीहरु उपलब्ध गराउनुभएको हो । त्यसलाई मैले बाँडेकी हुँ । बच्चाहरु रमाए । के गल्ती भयो ?’

‘म हिन्दू हुँ तर अरु धर्मका चाडपर्वलाई पनि सम्मान गर्छु,’ श्रृंखलाले थपिन्, ‘धर्मनिरपेक्ष मुलुकमा क्रिसमस टोपीलाई लिएर विवाद गर्नु आवश्यक छैन । फेरि यो कुनै क्रिस्चियन संस्था वा आइएनजीओले प्रायोजन गरेको पनि होइन ।’

इन्टाग्राममा श्रृंखलाले उक्त अवसरको तस्वीर राख्नासाथ धेरै प्रतिक्रियाहरु आएका थिए । कतिपयले उनको शैलीबाट दुखी भएको बताएका छन् भने कतिपयले उनको बचाउ गरेका छन् । एकजनाले लेखका छन्–‘क्रिसमस टोपीले बच्चाको जाडो थेग्छ ? न्यानो टोपी दिएको भए हुन्थ्यो नी ।’ यद्यपि, श्रृंखलाले ब्ल्याङ्केट र न्यानो कपडाहरु पनि बाँडेकी थिइन् ।

गाउँमा श्रृंखलाले एउटा हेल्थपोष्ट निर्माण गर्दैछिन् जसको फिनिसिङको काम भइरहेको छ । उनले तीन महिनाभित्र हेल्थ पोष्ट सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताइन् । साथै उनी गाउँमा चाँडै बिजुली बत्ती र्पुयाउन पनि प्रयासरत छिन् । तर सामाजिक सञ्जालमा आएको एउटा तस्विरका आधारमा मानिसहरुले बनाएको गलत धारणाप्रति उनी दुखी छिन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्