सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लिटिल बुद्ध भनिने बम्जनका दुई अनुयायी नियन्त्रणमा

आश्रम भित्रै आफ्ना अनुयायीको कुटिकुटी हत्या गरेको र महिला अनुयायीमाथी यौन शोषण गर्नुका साथै बेपत्ता पारेको उजुरीका आधारमा आफुलाई लिटिल बुद्ध बताउने रामबहादुर बम्जनमाथीको अनुसन्धानको घेरालाई प्रहरीले व्यापक बनाउँदै लगेको छ ।

लिटल बुद्धका नामले चिनिएका रामबहादुर बमजनको सिन्धुलीस्थित आश्रममा प्रहरीले अनुसन्धान थालेको छ । आश्रमबाट बिहीबार प्रहरीले बम्जनका दुई अनुयायीहरूलाई नियन्त्रणमा समेत लिएको छ ।

मकावनपुर, सर्लाही र सिन्धुपाल्चोकमा विशेष अनुसन्धान गरेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–८ पैरेमा रहेको बम्जनको आश्रममा सोधपुछ तथा अनुसन्धानका लागि भन्दै दुई जनालाई नियन्त्रणमा लिएको हो ।

सिन्धुलीका प्रहरी निरिक्षक स्यामकृष्ण केसीको टोलीले बम्जनका अनुयायी भनिने मकवानपुर हर्नामाणीका इन्द्रबहादुर स्याङ्तान र हरिवन पथरकोट सर्लाहीका गोपाल योन्जनलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सोधपुछका लागि राखिएको सिन्धुलीका प्रहरी प्रमुख रामेश्वरप्रसाद यादवले जानकारी दिएका छन् ।

उनले भने–‘सिन्धुली र सिन्धुपाल्चोकबाट आएको प्रहरीको विशेष टोलीले सिन्धुली आश्रममा अनुसन्धान थालेको छ । नियन्त्रणमा लिइएका दुई जनालाई पनि अनुसन्धानकै लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइएको हो । उनिहरुमाथी बयान लिने काम भईरहेको छ ।’

आश्रममा मकवानपुर पर्साहाका दिलबहादुर तामाङसँग समेत प्रहरीले सोधपुछ गरेको छ । उनलाई भने सोधपुछपछि आश्रममै छाडिएको बोधश्रवण धर्म संघका केन्द्रीय सदस्य छत्र बम्जनले जानकारी दिएका छन् ।

विभिन्न आश्रममा बस्दा पाँच जना उनका अनुयायी र आनीहरु बेपत्ता पारेको, आश्रमका आनीहरुमाथि यौन दुव्र्यबहार गरेको जस्ता आरोपमा बम्जनमाथी किटानी जाहेरी परेपछि प्रहरीले बम्जनको खोजी गर्दै उनका अनुयायी र आश्रममा अनुसन्धान थालेको हो ।

प्रहरीले छापामार शैलीमा आफ्ना अनुयायीहरुलाई नियन्त्रणमा लिएर गएको भन्दै बोधीश्रवण धर्मसंघका केन्द्रीय अध्यक्ष निलबहादुर थिङले आपत्ती जनाएका छन् । आश्रममा ध्यानमा बसेकाहरुलाई प्रहरीले कुनै जानकारी विनानै नियन्त्रणमा लिएको भन्दै उनले आपत्ती जनाएका हुन् । थिङले बम्जनमाथी लागेको आरोपको खण्डन समेत गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्