सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

युट्युवमा भिडियो हालेर कसरी कमाउने त पैसा ?

धेरै अभिभावक आफ्ना सन्तानलाई ‘धेरै नेट नचला है’ भनेर गाली गर्छन् । यसको आशय इन्टरनेट चलाएर आफ्नो उत्पादनशील समय खेर गएको भन्ने बुझ्न सकिन्छ । इन्टरनेट चलाएर सबै युवा आफ्नो सिर्जनशीलता घटाइरहेका छन् त ? आश्चर्य लाग्न सक्छ, युवा पुस्ता कला देखाएर इन्टरनेटबाटै मनग्गे कमाउन पनि थालेका छन् ।

कुनै समय संगीत कति हिट भयो भनेर क्यासेट बिक्रीलाई आधार बनाइन्थ्यो । गायक र सर्जकले निश्चित रोयल्टी पाउँथे । कम्पनीले नाफा कमाउँथे । अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सीडी, सीआरबीटी हुँदै संगीत व्यवसाय युट्युबमा केन्द्रित छ ।

मोरङका कृष्ण उदासको आफ्नै युट्युब च्यानल छ । उनले आफ्ना सिर्जना युट्युबबाटै सार्वजनिक गर्दै आएका छन् । ‘प्रविधिलाई आत्मसात् गर्दा सामान्य मान्छेले पनि कला प्रस्फुटन गरेर आम्दानी गर्न सक्दो रहेछ’, उनले भने । उनी युट्युबबाटै मासिक चार सय अमेरिकी डलर कमाइरहेका छन् ।

उनका दुई युट्युुब च्यानल छन् । फलैँचा इन्टरटेनमेन्ट र फलैँचा इन्फोटेनमेन्ट । फलैँचा इन्टरटेनमेन्ट चलाएको एक वर्ष भयो । अहिले यसको सब्सक्राइबर्स ३५ हजार छन् । आधा दर्जनभन्दा बढी भिडियो लाखभन्दा बढीले हेरेको उनले बताए । जागिरबाट जस्तै युट्युबबाट नियमित पैसा पाइरहेको उनले सुनाए ।

युट्युबको मनिटाइजेसन प्रविधिले अस्तित्व संकटमा परेका सर्जकको जीवनलाई पुनर्जागृत गरेको कलाकार पुरुषोत्तम रिजाल बताउँछन् । मोबाइलमा मेमोरी कार्ड राखेर गीत सुन्ने समय थियो । यसले सर्जकहरूले एल्बम निकालेर कमाइ गर्ने अवस्था थिएन । पाँच वर्ष अगाडिको अनुभव सुनाउँछन् रिजाल, ‘फित्तावाला चक्कापछि सीडी आयो । मोबाइल कार्डले व्यापारलाई ह्याम्पर र्गयो । एल्बम निकाल्नै कम भयो । म्युजिक कम्पनीको अस्तित्व समाप्तजस्तै भयो ।’

उनले पाँच वर्षअघि खोलेको भाइस क्रिएसनको एक लाख सब्स्क्राइब्स पुगिसक्यो । आफ्ना अधिकांश गीत, म्युजिक एल्बम यसैबाट सार्वजनिक गरेका छन् । उनी भन्छन्, ‘सिंगरले युट्युब च्यानलले लामो कन्टेन्टलाई प्राथमिकतामा पार्छ । दुई घण्टा, तीन घण्टाको भिडियोलाई विज्ञापन दिन्छ ।’

युट्युबबाट मासिक औसत डेढ लाख रुपैयाँजस्तो कमाइ हुने गरेको उनले बताए । भिडियो बनाएर युट्युबमा अपलोड गरिसकेपछि त्यसलाई मनिटाइज गर्न आफ्नो च्यानलमा कम्तीमा १० हजार भ्युज हुनु आवश्यक छ, यसका साथै आफू  युट्युब पार्टनर प्रोग्रामसँग पनि जोडिनुपर्छ ।

जब आफ्नो च्यानलमा १० हजार ‘भ्युज’ पुग्छ, तब युट्युबले तपाईंको भिडियो आफ्नो नीतिअन्तर्गत छ कि छैन भनेर जाँच्छ । सबै कुरा ठीक छ भने तपाईं युट्युब पार्टनर बन्नुहुनेछ भने तपाईंका भिडियोहरूमा विज्ञापन आउन थाल्छन्  ।

कमाई कसरी हुन्छ त युट्युबबाट ?
युट्युबमा गएर नयाँ च्यानल बनाउनुहोस् र भिडियोहरू राख्नुहोस् । भिडियो चोरेर भने राख्नु हुँदैन । त्यसो गरे प्रतिलिपि अधिकारसम्बन्धी कानुनका कारण तपाईंको भिडियो त युट्युबबाट हट्छ नै, तपाईंको च्यानल नै प्रतिबन्धित हुने सम्भावनासमेत हुन्छ । बरु तपाईंले कुनै निश्चित विषयसँग सम्बन्धित रहेर नियमित रूपमा भिडियो बनाउन सक्नुहुन्छ । स्मार्टफोनको स्मार्ट जमानामा अहिले तपाईंलाई भिडियो बनाउन त्यति गाह्रो पनि नपर्ला ।

भिडियो बनाउँदा दर्शकको रुचिलाई ध्यान दिनुहोस्, दर्शक कस्ता प्रकारका भिडियो रुचाउँछन् भन्ने कुरा अध्ययन गरेर त्यही रुचि समेट्ने गरी भिडियो बनाइयो भने नियमित रूपमा राम्रो दर्शक संख्या पाउन सकिन्छ ।

युट्युब च्यानल बनाएर युट्युब पार्टनर प्रोग्राममा जोडिन आवेदन दिनुपर्छ । याद गर्नुहास्, युट्युब पार्टनर प्रोग्रामको रिभ्यु हुन आफ्नो च्यानलको भिडियो लाइफटाइममै कम्तीमा १० हजारपटक हेरिएको हुनुपर्नेछ ।

युट्युब पार्टनर प्रोग्राम हाल नेपाललगायत विश्वका केही देशमा उपलब्ध नभएकाले च्यानल लोकेसनमा युट्युब पार्टनर प्रोग्राम हुन उपयुक्त देश छान्नुपर्ने हुन्छ । च्यानलमा विज्ञापन आएर मनिटाइज भएको भिडियोबाट कमाउन युट्युब च्यानललाई एडसेन्स एकाउन्टसँग कनेक्ट गराउनुपर्छ ।

यति गरेपछि मनिटाइज विथ एड्स छानेर कस्तो प्रकारको विज्ञापन राख्ने हो छान्नुपर्छ । यो कामका लागि भिडियो म्यानेजरको युट्युब स्टुडियो एपमा जानुपर्ने हुन्छ । अब नियमित रूपमा भिडियो अपलोड गर्नुपर्छ ।

युट्युबमा खोज्दा आफूले तयार पारेको भिडियो तुरुन्तै फेला पर्नुपर्छ  । कुन शब्द खोजेर दर्शकहरू आफ्नो च्यानलमा आइरहेका छन्, त्यहीअनुसार भिडियोको टाइटल (शीर्षक) तथा डिसक्रिप्सन राख्दा पनि धेरै दर्शकले चाँडै फेला पार्ने भिडियो दिन सकिन्छ ।

अन्तराष्ट्रिय दर्शक बढाउन गुगलको ट्रान्सलेसन टुल प्रयोग गरेर भिडियोमा विभिन्न भाषामा शीर्षक एवं डिसक्रिप्सन राख्न सकिन्छ । युट्युब आफैंमा पनि एउटा ठूलो सर्च इन्जिन हो । राम्रो डिसक्रिप्सन लेखेर युट्युबको सर्चमा अगाडि आउन सकिन्छ ।

भिडियो युट्युबमा राख्दा थम्बनेल र आकर्षक शीर्षक राख्नुपर्छ । भिडियोको थम्बनेल र शीर्षकले नै दर्शकलाई भिडियो हेरौं कि नहेरौं भनेर निक्र्योल गर्न मद्दत गर्छ । एकपटक आएका दर्शकलाई आफ्नो च्यानलमा लामो समयसम्म टिकाउन प्ले लिस्ट बनाउन सकिन्छ । यसले आफ्नो च्यानलको लोकप्रियता बढाउन थप सहयोग गर्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्