कराएर तिन सैनिकबाट बलात्कार हुनबाट बचिन किशोरी
नेपाली सेनाका तिन जवानले सिरहाको मिर्चैयामा एक किशारीमाथी बलात्कारको प्रयास गरेका छन् । मिर्चैया नगरपालिका–६, मटियर्वामा शुक्रबार राति करिब साढे ९ बजेको समयमा नेपाली सेनाका ३ जना जवानहरुले किशोरीलाई बलात्कारको प्रयास गरेको खुल्न आएको छ ।
मिर्चैया ६ मटियर्वा (पानी ट्यांकी) नजिकै एकान्तको घरमा रहेकी किशोरीलाई नेपाली सेनाका ३ जना जवानले जबर्जस्ती करणी गर्न खोज्दा किशोरीले चिच्याउँदै गुहार मागेकी थिइन् । आवाज सुनेर स्थानीयहरुले किशोरीलाई उद्धार गरी सेनाका जवानहरुलाई नियन्त्रणमा लिन खोज्दा उनीहरु भाग्न खोजेका थिए ।
खेद्दै जाँदा १ जना समातिए पनि दुईजना भने फरार भए । पक्राउ परेका नेपाली सेनाका जवान दिपेन्द्र शाही हुन् । नियन्त्रणमा लिएका उनलाई स्थानीयहरुले हात बाँध्दै गर्दा होहल्ला भएपछि घटनास्थलमा पुगेका मिर्चैया प्रहरीले सेनाका जवानसहित ३ जना स्थानीयलाई समेत पक्राउ गरेका छन् ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/strike-against-rape-case-in-siraha-1024x671.jpg)
आवेशमा स्थानीयको कुटपिटबाट घाइते भएका सैनिक शाहीलाई सैनिकले क्याम्पमा लगिसकेको छ । शाहीको उपचार भइरहेको स्रोतको दाबी छ । पक्राउ गरेका स्थानीयलाई रातभर प्रहरीले यातना दिएको किशोरीका दाईले सुनाएका छन् ।
पीडितलाई न्याय दिलाउनुको साटो बलात्कारीलाई नै बचाउन खोजेको भन्दै मिर्चैयामा स्थानीयहरुले बिहानैदेखि चक्काजाम गरेर प्रदर्शन गरिरहेका छन् । यता, ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले जवानलाई कुटपिट गरेको देखिएपछि उनीहरुलाई तत्काल नियन्त्रणमा लिएको बताएका छन् ।
सैनिक जवानसहित प्रहरीले अनुसन्धानका लागि भन्दै स्थानीय दिपेश यादव, मुकेश यादव र चन्दन पासमानलाई नियन्त्रणमा लिएपछि स्थानीय आक्रोशित भएर आन्दोलित भएका थिए ।
बलात्कार गर्न खोज्नेलाई बुझाउन जाँदा प्रहरीले उल्टै स्थानीयलाई समातेपछि उनीहरु आक्रोशित बनेका हुन् । शनिबार बिहान ९ बजेदेखि दोषीलाई कारबाहीको माग र नियन्त्रणमा लिएकालाई रिहाइको माग गर्दै स्थानीयले पूर्व–पश्चिम लोकमार्गमा चक्का जाम गरी प्रहरीविरुद्ध प्रदर्शन गरेका थिए ।
शनिबार दिउँसो ४ बजे स्थानीय र प्रशासनबीच दोषीलाई कारवाही गर्ने सहमति भएपछि आन्दोलन फिर्ता लिएका थिए । जिल्ला प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलका अनुसार पीडितले अहिलेसम्म उजुरी दर्ता गराएका छैनन् । उजुरी दर्ताभएपछि कारवाही प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्