तपस्वी भनिएका बम्जनबिरुद्ध आनी बेपत्ताको अर्को उजुरी
तपस्वीको भेषमा बिभिन्न ठाउँमा आश्रम खोलेर बसेका रामबहादुर बमजनविरूद्ध प्रहरीमा पाँचौं जाहेरी परेको छ । सर्लाहीको बागमती नगरपालिका–१२ काजीराम टोलकी सुम्नी बोटले आफ्नी छोरी रिता बमजनको आश्रमबाट हराइरहेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् ।
बमजनको आश्रमबाट आफन्त बेपत्ता भएको भन्दै प्रहरीमा परेको यो पाँचौं उजुरी हो । यसअघि नुवाकोटकी गंगामाया तामाङले बहिनी, मकवानपुरका विजय रूम्बाले दिदी, मकवानपुरकै महिन्द्र वाइवाले बुवा र बाराका हस्तबहादुर आलेले छोरा बमजनको आश्रमबाट बेपत्ता भएको भन्दै जाहेरी दिएका थिए ।
सुम्नीले एकपटक छोरी रितासँगै बमजन घरमा आएर एक महिनासम्म बसेको, छोरी पछिल्लो पटक आउँदा जमिनमुनि गाडेका फोटोहरू झिकेर जलाएर गएको, त्यसपछि फर्केर नआएको जाहेरीमा उल्लेख गरेकी छन् ।
जाहेरीमा भनिएको छ–‘फोटोहरू जलाएर गएकी छोरी अहिलेसम्म आएकी छैनन् । बरू बमजन आफैं आएर रिताबारे सोधेका थिए । बमजनकै आश्रमबाट छोरी हराएकाले खोजी पाउँ ।’
जिल्ला प्रहरी कार्यालयका एसपी पोषराज पोखरेलले जाहेरीमाथि अनुसन्धान भैरहेको बताएका छन् । उनले भने–‘हलखोरिया आश्रमबाट हराएको भन्ने छ । हामीले यसबारे अनुसन्धान गरिरहेका छौं । सर्लाहीकै पथ्थरकोट लगायत अन्तका आश्रममा पनि हामीले रिताबारे सोधिखोजी गर्दैछौं ।’
रिता बोट सम्भवत; बमजनको आश्रमबाट बेपत्ता भएकी पहिलो आनी हुन् । उनी २०६६ अघि नै बमजनको हलखोरीयास्थित आश्रममा बस्न थालेकी थिइन् । उनको र बमजनको बीचमा गुरू र आनीको सम्बन्ध मात्र थिएन । परिवारका अनुसार बमजनले आफूहरूबीचमा प्रेमसम्बन्ध रहेको पनि बताएका थिए ।
२०६६ मंसिरमा रिता बमजनलाई लिएर काजीराम टोलस्थित आफ्नो घर गएकी थिइन् । आँगनसँगै जोडिएका दुईमध्ये एउटा घरको माथिल्लो तलामा बमजन र आफ्नी छोरी रिता १ महिनासम्म बसेको सुम्नीले बताएकी थिइन् ।
एक महिनाजति बसेर गएको तीन महिनापछि रिता एक्लै घर आएकी थिइन् । एक्लै आउँदा त्यसअघि आफैंले जमिनमुनि गाडेर राखेका फोटोहरू झिकेर जलाएकी थिइन् । त्यहीबेला उनले आमासँग आफूले आश्रममा धेरै यातना पाएको बताएकी थिइन् ।
सुम्नीका अनुसार, रिताको शरीरमा कुनै हतियारले चिरेर र कुटेर बनेका घाउ थिए । ‘शरीरभरी चिरेका घाउ र निला निला डाम थिए,’ सुम्नीले भनेकी थिइन–‘चाररपाँच दिनपछि बमजनले नै फोन गरेर बोलायो । मैले नजा भन्दाभन्दै छोरी फर्केर आश्रम गयो ।’
त्यसयता रिताको अत्तोपत्तो छैन । रिता आश्रम गएको केही समयमा बरू बमजन रिताबारे सोध्न आएका थिए । रितालाई खोज्दै आएका बमजनले उनका दाजुलाई प्रहरीमा उजुरी नगर्न भनेका थिए । उजुरी गरे दुबैलाई अप्ठ्यारो पर्ने धम्की दिएका थिए ।
त्यसपछि बमजनले रिताको परिवारसँग सम्पर्क गरेका छैनन् । धम्कीकै डरले आफैं सोधिखोजी गर्ने बाहेक परिवारले प्रहरीमा उजुरी दिन गएका थिएनन् । बमजनको आश्रमबाट बेपत्ता भएका अरू आनी र चेलाका परिवारले पुसमा जाहेरी दिएको खबर सुनेपछि सुम्नीले पनि आफ्नी छोरी खोजीदिन भन्दै निवेदन दिएकी हुन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्