निर्मला हत्यामा गृहमन्त्रीका छोराको डिएनए परिक्षण माग
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेताहरुले निर्मला पन्तका हत्यारा पत्ता लाग्न नसकेको प्रति आक्रोश व्यक्त गरेका छन् । बलात्कारपछि हत्या भएको ७ महिना वितिसक्दा पनि अपराधी पत्ता लाग्न नसकिरहेको अवस्थामा नेकपाले यस्तो माग अघि सारेको हो ।
नेकपा नेता अनिल विरहीले निर्मला पन्तको बलात्कार र उनका हत्यारा पत्ता लगाउन ओली सरकारका गृहमन्त्री राम बहादुर थापाका छोराको डीएनए परीक्षण गर्नुपर्ने माग अघि सारेका हुन् ।
नेकपाका पोलिटब्युरो सदस्य समेत रहेका विरहीले निर्मला पन्तका हत्यारा अहिलेसम्म पत्ता लगाउन नसक्नु सरकारको निरीहता भएको भन्दै गृहमन्त्री थापाका छोराको डीएनए परीक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।
![](https://everestwall.com/wp-content/uploads/2018/10/nirmala-panta-kanchanpur-kanda-1024x775.jpg)
उनले भने–‘भीआईपीहरूको नामसँगै गृहमन्त्री बादलको छोराको नाम पनि निर्मला हत्याकाण्डमा जोडिएर आएको छ । त्यसैले बादलको छोराको डीएनए परीक्षण गरिनुपर्छ ।’
यसअघि नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले पनि नेकपाले निर्मलाका हत्यारालाई जनकारवाही गर्ने चेतावनी दिएका थिए । यो घटनामा राज्यकै संलग्नता रहेको दाबी गर्दै प्रकाण्डले नेकपाले हत्यारा पत्ता लगाएर जनकारवाही गर्ने चेतावनी दिएका थिए ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/anil-birahi-1024x661.jpg)
बेला बेला नेकपा नेताहरुले निर्मला प्रकरणमा आवेगात्मक अभिव्यक्ति दिदैं आएका छन् । नेकपाका नेताहरुले आफ्नो अभिव्यक्तिमा निर्मला पन्तको हत्यामा सरकारकै भिआईपीका सन्तानको हात रहेको संकेत गर्दै आएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्