डा. केसीलाई हेलिकप्टरबाट राति काठमाण्डौ ल्याइयो
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सच्याउन माग गर्दै १६ औं अनसन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछी उनलाई बिहीबार राति काठमाडौं ल्याइएको छ । स्वास्थ्य स्थिति जटिल भएको भन्दै उनलाई एम्बुलेन्समार्फत भद्रपुर पुर्याई भद्रपुरवाट सेनाको हेलिकप्टरमार्फत राति नै काठमाडौं ल्याइएको हो ।
त्रिभुुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा कार्यदलका संयोजक केदारभक्त माथेमा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, अधिकारकर्मी दमननाथ ढुंगाना लगायतको टोली साँझ इलाम आए लगत्तै उनलाई राजधानी लान पहल थालिएको थियो ।
यसअघि धरानबाट आएको विशेष चिकित्सकको टोलीले केसीको स्वास्थ्य स्थिति जटिल भएको भन्दै तत्काल आईसीयू र सीसीयू सुविधा भएको अस्पतालमा लैजान सुझाएको थियो । केसीको अन्दोलनमा समर्थन जनाउन आएका सामाजिक अगुवाले उनको स्वास्थ्य स्थिति बुझेपछि तत्काल काठमाडौं लानुपर्ने निष्कर्ष निकालेका थिए ।
‘डा. केसीको सत्याग्रह माग पूरा नभएसम्म कायम रहन्छ,’ पूर्वसभामुख दमननाथ ढुंगानाले भने, ‘तर उनको स्वास्थ्य स्थितिलाई ख्याल गरेर जसरी पनि काठमाडौं लानुको विकल्प भएन ।’ सँगै रहेका माथेमा र कार्कीले पनि ढुंगानाको भनाइमा सहमति जनाएका थिए ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/dr-govinda-kc-1024x649.jpg)
त्यस्तै केसीका निकट सहयोगी अभिषेकराज सिंह र सुरेन्द्र भण्डारीले पनि केसीको जीवनरक्षाका लागि यो पहल गरिएको बताए । धरानका दुई चिकित्सकसहित एम्बुलेन्समा उनलाई भद्रपुर झारिएको हो । केसीको थप उपचार शिक्षण अस्पताल महाराजगन्जमा हुनेछ । केसीलाई इलामबाट रिफर गरिँदै गर्दा सहयोगीले उनको मुद्दाका पक्षमा नाराबाजी गरेका थिए ।
यसैबीच, कांग्रेस सांसद एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले डा. केसीका माग पूरा गर्न प्रधानमन्त्री केपी ओलीलाई अपिल गरेका छन् । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरेर उनले सरकार र डा. केसीबीच भएको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक संशोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । थापा संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य हुन् ।
‘कसैले प्रतिष्ठाको विषय नबनाऔं, यो कुनै पार्टी वा दलको विषय होइन, डा. केसीको जीवन रक्षा गर्ने कुरा राष्ट्रिय सम्मानका लागि आवश्यक छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले मनमा आग्रह नराखी पहलकदमी गरेर हिँजोका सम्झौताका आधारमा विधेयक संशोधन गरी समस्या समाधान गर्न आग्रह गर्छु ।’ सरकार आफैंले गरेको सम्झौता पूरा गरे केसीको जीवन रक्षा हुने उनको ठहर छ ।
केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले कुनै पनि बेला अप्रिय घटना हुन सक्नेप्रति उनले सचेत गराएका थिए । ‘उदेकलाग्दो विषय त के छ भने सरकार उनलाई कम्युनिस्ट विरोधीको संज्ञा दिइरहेको छ, कांग्रेसको ट्याग भिराउँदै छ, हिजोका दिनमा पनि सत्ताको नेतृत्व गर्नेहरूले त्यसैगरी किनारा लगाए,’ उनले भने ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्