सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मौका मिले कानुन सबैलाई समान भन्ने गराउँछुः श्रृंखला

श्रृङ्खला खतिवडाको चर्चा त्यतिबेला चुलियो जतिबेला उनी नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वल्र्ड २०१८’ मा सहभागी भइन् । ‘मिस नेपाल २०१८’ को उपाधि चुम्दै ‘मिस वल्र्ड’मा सहभागी उनले उक्त प्रतियोगीतामा आफूलाई उत्कृष्ट १२ भित्र समेत उभ्याउन सफल भइन् ।

सोही प्रतियोगिताबाट ‘ब्यूटी विथ द प्रपोज’ र ‘मल्टिमिडिया अवार्ड’ जस्तो दुई महत्वपूर्ण उपाधि नेपाल भित्र्याउन सफल उनको समाजसेवातिर पनि रुचि रहँदै आएको छ । ‘मिस वर्ल्ड’ यात्रापछि आफूमा थुप्रै परिवर्तन आएको बताउने उनको अभिनयतिर भने पटक्कै रुचि छैन । उनै श्रृङ्खलालाई रातोपाटी अनलाईनले सोधेका दश प्रश्नः

सौन्दर्य प्रतियोगितामा प्रवेश गर्नुको लक्ष्य प्राप्त भयो कि भएन ?
–‘मिस नेपाल’ पछि मेरो पहिलो लक्ष्य ‘मिस वर्ल्ड’ मा सहभागी हुनु थियो । केही हदसम्म त्यो पूरा भयो । मैले सानैदेखि ‘मिस नेपाल’ लाई बिग प्लेटफर्मको रुपमा हेर्दै आएकी थिएँ । त्यसैले पनि ‘मिस नेपाल’ का हरेक इभेन्ट सानैदेखि फलो गर्थेँ । म जित्नसक्छु भन्ने कन्फिडेन्ट पहिले मेरो मनमा थिएन । जब जित्छु भन्ने कन्फिडेन्ट पलायो । मिस नेपालमा भाग लिएँ र जितेँ पनि ।

फिटनेश गर्नुहुन्छ ?
–‘मिस नेपाल’ र ‘मिस वर्ल्ड’ को तयारी गर्दा त धेरै फिटनेस तिर ध्यान थियो । ‘मिस वर्ल्ड’ बाट फर्किएपछि भने त्यति ध्यान दिन सकेकी छैन । फिटनेसमा ध्यान दिनुपर्छ भन्ने लागेको छ ।

मनपर्ने फेसन ?
–म सिम्पल छु । कस्तो फेसन चलिरहेको छ । कस्तो आउँदैछ । सबैको जानकारी राख्छु । तर, म सिम्पल पहिरन रुचाउँछु । चलेको, ब्राण्डेड, नयाँ भन्दा पनि कम्फटेवल तिर जोड दिन्छु ।

फूर्सदको समय ?
–फूर्सद कहिलेकाहिँ मात्र हुन्छ । यस्तो समय पुस्तकहरु अध्ययन गर्छु । कथा, कविता लेख्छु ।

घुमफिरतिर कतिको रुचि छ ?
–धेरै रुचि छ । ट्रेकिङ जान एकदमै रमाइलो लाग्छ । देशका सबै जिल्ला घुम्न पाएको छैन । घुम्ने इच्छा छ ।

नेपाली फिल्म कति हेर्नुहुन्छ ?
–नेपाली न हिन्दी । धेरै फिल्म हेरेकी छैन । अनमोल केसी, प्रदीप खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह, राजेश हमाल, भुवन केसी, नीर शाह लगायत केही नेपाली कलाकार चिन्छु ।

समाजसेवामा रुचि कहिले पलायो ?
–सानैदेखि अरुका लागि केही गरौ भन्ने भावना मनमा थियो । कसरी के गरेर सुरु गर्ने भन्नेमा अन्यौलमा थिएँ । बिभिन्न माध्यमबाट गाउँघरका, गरिब असाहयका दुःख सुन्दा केही गर्न सकिन्छ कि भनेर सोचिरहन्थेँ । ‘बर्थ डे’ साथीभाइसँग डिस्को गएर भन्दापनि असाहय र अनाथलाई खाना खुवाएर मनाउँदै आएको छु । ‘मिस नेपाल’ भएपछि समाजसेवाको लागि झन् माहोल मिल्यो ।

सानोमा तपाईँ कस्तो हुनु हुन्थ्यो ?
–म एकदमै ज्ञानी थिए । मेरो दाइ बरु चकचके हुनुहन्थ्यो ।

राजनीति मनपर्छ ?
–अहिले त ठीकै लाग्छ । तर सानोमा फिटिक्कै मनपर्दैन थियो । कारण, बुबाआमा राजनीतिमा भएकोले हामी र घरबाट सधैं टाढा रहनुहुन्थ्यो । देशका लागि, जनताका लागि सधै लागिपर्नु हुन्थ्यो । तर घरका लागि समय निकाल्न मुस्किल थियो । राजनीतिमा लागेर उहाँहरुले जस भन्दा पनि धेरै अपजस पाएको देख्थेँ । राजनीतिले गर्दा आमाबुबा सधैँ टेन्सनमा हुनुहुन्थ्यो । यसकारण पनि राजनीति मन परेन ।

देशको महत्वपूर्ण पदमा रहेर काम गर्ने अवसर मिल्यो भने ?
–देशमा कानुन छ । कानुन भएको फिल गर्न सकिएको छैन । दोषीलाई सजायँ दिने जेल छ, दोषी बाहिर खुलेआम हिँडिरहेका छन् । दोषी जो भएपनि कानुनले छाड्दैन भन्ने मौका मिलेको छैन । गरिब र धनीका लागि कानुन फरक देखिएको छ । यदि अवसर मिल्यो भने कानुन सबैका लागि एउटै हो भन्ने फिल गराउँछु ।

रातोपाटी अनलाइनबाट जस्ताको तस्तै साभार गरिएको ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्