ठकुरीको हत्या गरी शबसँग ‘सेल्फि’ खिचेको खुलासा
सुर्खेतबाट असई हुन भनि बाँकेको कोहलपुर आएका दिपक सिंह ठकुरीको हत्यामा संलग्न दुई अभियुक्तले ठकुरीको हत्या गरेर शवसँग सेल्फी खिचेको फेला परेको छ । प्रहरीमा भर्ना गराईदिन नसक्ने भएपछि सुर्खेत सिम्ता गाउँपालिका–२ का दीपकसिंह ठकुरीको हत्या गरेर दुई अभियुक्तले ठकुरीको शवसँग सेल्फी खिचेको पाईएको हो ।
अछामका भरत शाही र बाँकेका मोहन गिरी भन्ने युवराज गिरी (जिरे) ले असई बनाईदिने भन्दै हत्या गरिएका ठकुरीसँग डेढ लाख रुपैयाँ मागेका थिए । असई नै बनाईदिन्छु भनेपछी मृतक ठकुरीले अभियुक्त गिरी र शाहीलाई पैसा दिए । तर उनीहरुले पैसा लिएर ठकुरीलाई असई बनाईदिन सक्ने अवस्था थिएन ।
उनीहरुले प्रहरीलाई दिएको बयान अनुसार ठकुरी मेडिकलमा फेल हुन्छ र पैसा माग्छ भन्नेमा उनीहरु ढुक्क थिए । त्यसपछि उनीहरुले ठकुरीको हत्या गर्ने योजना बनाए । ठकुरीले डेढ लाख रुपैयाँ बुझाउँदा प्रमाणका लागि भन्दै उनीहरुसँग फोटो खिचेको थियो । त्यो फोटोले पनि उनीहरुलाई पिरोलेको थियो ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/deepaksingh-thakuri-murder-in-kohalpur-1024x697.jpg)
पुस २७ गते साँझ कोहलपुरको बसपार्कस्थित एक होटलमा ठकुरीलाई बोलाए । त्यहाँ केहीबेर मदिरापन गरेपछि थप मदिरा खोला किनारमा गएर खाने भन्दै त्यहाँबाट निस्किए ।
कोहलपुर–११, नयाँ बसपार्कको पूर्वपट्टीको खुल्ला चौरमा पुगेपछि शाहीले पछाडिबाट ठकुरीको टाउकोमा दाउराले हाने । रन्थनिएका ठकुरी ढले । ढलेपछि गिरीले चक्कुले घाँटी रेटेका थिए ।
ठकुरीको हत्यापछि शव र चक्कु देखिने गरी गिरीले सेल्फी खिचे । प्रहरीले शाहीलाई सुर्खेत र गिरीलाई बर्दियाबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । गिरीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/yubaraj-giri-murderer-of-dipaksingh-thakuri-1024x669.jpg)
बर्दियाको मधुवन नगरपालिकाको वडा नं. ३ स्थित आफन्तको घरमा लुकेर बसेको थाहा पाएर पुगेको प्रहरीलाई देखेर भाग्न खोज्दा प्रहरीले घुडामुनी गोली हानेर नियन्त्रणमा लिएको थियो ।
गिरीको कोहलपुरमा उपचार भइरहेको छ । पक्राउ परेका शाहीको बयानका आधारमा प्रहरी गिरीको खोजीमा थियो । उनी आफन्तको घरमा लुकेर बसेको सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/dipaksingh-thakuri-murderer-bharat-shahi-1024x687.jpg)
प्रहरी आएको सूचना पाएलगत्तै उनी भाग्न खोज्दा प्रहरीले गोली चलाएको हो । उनको खुट्टामा गोली लागेको थियो । पक्राउ परेका शाहीको प्रारम्भिक बयानमा हत्यापछि शवसँग गिरीले शेल्फी खिचेका थिए ।
उक्त खिचेको शेल्फीमा नजिकै चक्कु पनि देखिएको छ । तर प्रहरीले अहिलेसम्म उक्त चक्कु फेला पार्न सकेको छैन् । उनीहरुले हत्या गरेर घटनास्थल वरपर नै फालेको बयान दिएपछि खोजतलास गर्दा चक्कु फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्