सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अनसनरत डा. केसी संक्रमणको ‘उच्च जोखिममा’

चिकित्सा शिक्षा सुधारको माग राखी ११ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी स्वस्थ्य संक्रमणको उच्च जोखिममा रहेको चिकित्सकले बताएका छन् । केसी त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएका छन् ।

उनको शरीरमा सेतो रक्तकणिकाको संख्या ३ हजारमा झरेको चिकित्सकको भनाइ छ । संक्रमणको जोखिम ध्यानमा राखी केसीलाई स्वास्थ्य टोलीबाहेक कसैसँग भेट्न दिइएको छैन ।

‘अहिले उहाँलाई आईसीयूमा आइसोलेसन जस्तै राखेका छौं,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘उहाँको अवस्था स्थिर छ ।’ अस्पतालका अनुसार केसीलाई एन्टिबायोटिक दिई निमोनियाको उपचार गरिँदै छ ।

शनिबार पूर्वराष्ट्रपति डा. रामवरण यादव शिक्षण अस्पताल गएर केसीको स्वास्थ्यबारे जानकारी लिएका छन् । नेपाल चिकित्सक संघले केसीको जीवनरक्षा माग्दै आन्दोलनमा उत्रने चेतावनी दिएको छ । संघले शनिबार विज्ञप्तिमार्फत केसीका माग अक्षरश; पालना गर्न सरकारसँग आग्रह गरेको छ ।

केसी संघका आजीवन सदस्य हुन् । १६औं पटक अनशन बसेको ११औं दिन बित्दासमेत सरकारले कुनै चासो नदेखाएको उल्लेख गर्दै संघले यसअघिको सम्झौतालाई आफू अनुकूल व्याख्या गरी भ्रम सिर्जना गर्न खोजिएको दाबी गरेको छ ।

विज्ञप्तिमा ‘प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा सम्झौता गरिए पनि उनीबाटै अलग परिस्थितिमा सम्झौता भएकाले संसद्लाई आदेश गर्न नसक्ने भनी आएको गैरजिम्मेवार अभिव्यक्ति’ ले मुलुकको इज्जत र प्रतिष्ठामा आँच पुगेको दाबी गरिएको छ ।

संघले केसीको जीवन रक्षाका लागि जुनसुकै बेला अप्रिय कदम उठाउन बाध्य हुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सरकार हुने चेतावनीसमेत दिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्