सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रामेछापको मन्थलीमा बस दुर्घटना, दुईको मृत्यु

ओखलढुंगाको चम्पादेवी गाउँपालिकास्थित घोराखोरीबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बसमा सवार २३ जना यात्रु घाइते भएका छन् ।

आइतबार दिउँसो रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ मच्छेडाँडीमा बा ४ ख ४२१० नम्बरको अरनिको यातायात सेवा समितिको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसका यात्रुमध्ये ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको वडा नं. ६, फुलबारी घर भएका ३६ वर्षका ओमबहादुर कार्कीको घटनास्थलमा नै मृत्यु भएको छ ।

घटनामा गम्भीर घाइते भएका मन्थली नगरपालिका वडा नं ५, सुनारपानीका ३२ वर्षका निरज भुजेलको उपचारको लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य २३ जनाको दुर्घटनास्थलबाट प्रहरी तथा स्थानीयले उद्दार गरी मन्थलीको तामाकोशी सहकारी अस्पतालमा उपचारका लागि पठाएका छन् । गम्भीर घाइते दुई जनालाई काठमाडौं रेफर गरिएको तामाकोशी सहकारी अस्पतालका निर्देशक डाक्टर सुमन कर्माचार्यले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्