सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सप्तरीमा एकाबिहानै प्रहरी इन्कान्टरमा १ को मृत्यु

सप्तरीमा बुधबार बिहानै प्रहरीले एक जनाको इन्काउन्टर गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा दिपेन्द्र जयसवाल भन्ने दीपेन्द्र चौधरी इन्काउन्टरमा मारिएका छन् ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख हरिबहादुर पालले प्रहरी मुठभेडमा उनको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्रले प्रहरीलाई नै एक राउण्ड फायरिङ गरेपछि प्रहरीतर्फबाट पनि फायरिङ भएको थियो ।

सो क्रममा उनको घटनास्थलमै मृत्यु भएको पालले जानकारी दिएका छन् । चौधरीमाथि २ गोली लागेको छ । एक साताअघि सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका समूहको गोली प्रहारपछि प्रहरी हवल्दार यादव घाइते भएका थिए । सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका हवल्दारमाथि गोली प्रहार भएको थियो ।

उनी २०७२ सालमा प्रहरी असई रमेश सुब्बाको हत्यामा संलग्न समेत भएका अपराधी भएको बताइएको छ । त्यतिबेला उनले प्रहरीको भ्यानमाथि एम्बुस थापेर सो घटना घटाएको प्रहरीको दाबी छ । यस्तै उनी अरु विभिन्न आपराधिक कार्यमा पनि संलग्न भए पाइएको प्रहरीले जनाएको छ ।

तराईको सशस्त्र समूह गोइत समूहको पूर्वकार्यकर्ता उनले अहिले आफ्नै समूह बनाएर चन्दा असुली, हप्ता असुली गरी भूमिगत गतिविधि सञ्चालन गर्दै आएको प्रहरीले बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्