सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चट्याङ लागेर चर्दै गरेका ५२ ओटा भेडाको मृत्यु

बाजुराको बडिमालिका नगरपालिका–७ चुथीको जंगलमा चराउन लगेको अवस्थामा चट्याङ लागेर ५२ वटा भेडा मरेका छन् । भेडा बूढीनन्दा नगरपालिका–४ का राजेन्द्र रोकाया र दीपक धामीका रहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताएका छन् ।

चुथीको जंगलमा सँगै चरिरहेका १२३ वटा भेडामध्ये चट्याङ लागेर ५२ भेडा घटनास्थलमै मरेको भाटले बताएका छन् । मंगलबार साँझ चट्याङ परेर भेडा मरेको भए पनि अत्यधिक हिमपात र वर्षाका कारण बुधबार मात्रै यकिन भएको भेडा व्यावसायि राजेन्द्र रोकायाले जानकारी दिएका छन् ।

रोकायाले भेडापालन व्यवसाय आफ्नो र धामीको साझेदारीमा गरिएको बताए । चट्याङका कारण करिब पाँच लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लेकाली भेगमा चिसो हुने भएपछि उनीहरूले चरिचरनका लागि भेडा चुथी ल्याएका थिए ।

चट्याङकै कारण रेडियो बाजुराको स्टेसनमा पनि क्षति भएको छ । रेडियोमा रहेको ट्रान्समिटर, मिक्सर, दुई थान कम्प्युटरसहितका मेसिनरी सामानमा क्षति भएको सञ्चालक समितिका अध्यक्ष माया शाहले बताइन् । ट्रान्समिटर नै जलेका कारण रेडियोको प्रसारण पनि बन्द भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्