सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

युद्ध लड्ने शैलीमा दशगजामा भारतले ट्रेन्च खन्यो

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कञ्चनपुरको पुनर्वास नगरपालिका–११, डोकेबजार क्षेत्रमा भारतले एकतर्फी रूपमा तारबार र ट्रेन्च निर्माण गरेको छ । सीमासँगै जोडिएको दुधुवा राष्ट्रिय निकुञ्जका वन्यजन्तुलाई बस्तीमा जान नदिन र निकुञ्जको सुरक्षाका लागि भन्दै भारतले दशगजा क्षेत्रमा ट्रेन्च खनेको हो ।

‘भारतले दशगजानजिकै ट्रेन्च खनेर तटबन्धजस्तै अग्लो संरचना बनाइरहेको छ,’ पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले भने, ‘आफ्नै भूमिमा निर्माण गरे पनि यसले नेपालतर्फको बस्ती डुबानमा पर्छ ।’ उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ठूलै ट्रेन्च निर्माण गरिरहेको बताए ।

एसएसबीले डोकेबजारमा रहेको सीमा स्तम्भ १७१ देखि ७७३ सम्म ट्रेन्च खन्ने र तारबार गर्ने काम गरिरहेको छ । डोकेबजारदेखि विकास बस्तीसम्मको झन्डै २ सय किलोमिटर क्षेत्रमा ट्रेन्च खन्ने योजना रहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले जानकारी दिए ।

‘तत्काललाई हामीले उक्त काम रोक्न लगाएका छौं,’ उनले भने, ‘फिल्डमै गएर अनुगमन गर्ने तयारीमा छौं, दशगजामा निर्माण भएको भए रोकिन्छ ।’ उनले यस विषयमा भारतीय पक्षले स्थानीय प्रशासनसँग कुनै समन्वय नगरेको बताएका छन् ।

विष्टका अनुसार भारतीय पक्षले निर्माण गरिरहेको तारबार र ट्रेन्च दसगजाभन्दा टाढा छ । ट्रेन्च खनेपछि थुपारिएको माटो तटबन्धजस्तै भएको छ । २ वर्षअघि पनि भारतीय पक्षले यही बहानामा लामो ट्रेन्च खनेर तटबन्धजस्तै संरचना बनाएको थियो । स्थानीय बासिन्दाको विरोधपछि त्यतिबेला जिल्ला प्रशासन कार्यालयले उक्त कार्य रोक्न लगाएको थियो ।

गत चैतमा पुनर्वास नगरपालिकाकै वडा नं. १०, खड्डा कंकडमा नेपालतर्फ दशगजाभन्दा निकै वर वन्यजन्तु रोक्न विद्युतीय तारबार लगाउन खोज्दा एसएसबीले अवरोध गरेको थियो । नगरपालिकाकै लगानीमा विद्युतीय तारबार लगाउन खोज्दा एसएसबीले पोल उखेलेर फालिदिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्