सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अनसनरत डा.केसीले मागे प्रधानमन्त्रीको राजिनामा

स्वास्थ्य क्षेत्रको सुधारका लागी भन्दै बिभिन्न माग राखेर आमरण अनसनमा बसेका डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरे लगतै पत्रकार सम्मेलन गरेका डा. केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको भन्दै राजीनामा माग गरेका हुन् ।

सहयोगी जीवन क्षेत्रीले पढेर सुनाएको डा. के.सी.को विज्ञप्तीमा भनिएको छ–‘आफ्नै निर्णयबाट विचलित भएकाले उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने हाम्रो विश्लेषण हो ।’ डा.केसी १७ औं दिनदेखि अनसनरत छन् र उनको तर्फबाट सहयोगी क्षेत्रीले नै लिखित वक्तव्य पढेका थिए ।

आफूसँग भएको सहमति विपरित विधेयक पास भएको भन्दै डा. केसीको विज्ञप्तिमा यो जनतामाथि नै धोका भएको उल्लेख गरिएको छ । डा. केसीले अनसन फिर्ता लिएर विधेयक कार्यान्वयन गर्न सरकारले गरेको आग्रहलाई अस्वीकार गरेका छन् र आमरन अनसन कायमै राख्ने बताएका छन् ।

डा. केसीका सहयोगी क्षेत्रीले सबै माग पुरा भएको भन्ने सरकार र सत्तारुढ दल नेकपाको दाबी खण्डन गरेका छन् । उनले भने–‘सम्बन्धन सम्बन्धी बुँदामा जुन बुँदा थपिएको छ, त्यहाँ सरकारको बद्मासी झल्कन्छ । यसले मेडिकल शिक्षा सुधार हुँदैन ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्