बिदेशबाट फर्किनेले के–के सामान ल्याउन पाईन्छ ?
कामको सिलसिलामा विश्वका बिभिन्न देशमा गएका नागरिकले स्वदेश फर्कँदा ल्याउने सामानमा सरकारले त्रिभुवन अन्र्तराष्ट्रिय बिमास्थलको भन्सार जाँचमा कडाई गर्न थालेको छ । पछिल्लो समय तोकेको भन्दा बढी रक्सीजन्य पदार्थ ल्याएमा जफल गर्दै आएको एयरपोर्ट भन्सारले अब ल्यापटप, मोवाईल जस्ता सामानमा पनि कडाई गर्ने जनाएको छ ।
भन्सार विभागका महानिर्देशक तोयम रायले कानुनले तोकेभन्दा बढी परिमाणको सामान ल्याए जफत तथा कानुनमा भएको ब्यबस्था अनुसारको कारवाही गर्ने बताएका छन् । उनले भनेका छन्–‘हामीले कानुनमा व्यवस्था भएबमोजिम रक्सी ल्याउन कडा गरेजस्तै अब ल्यापटप, मोवाइल, टिभी लगायतका सामानमा पनि कडाइका साथ कार्यान्वयनमा ल्याउँछौ ।’
सरकारले झिटिगुन्टा सम्बन्धी सुचनाको व्यवस्था झण्डै दुई वर्ष अघि गरेको हो । त्यसैको प्रभावकारी कार्यान्वयनमा सरकार जुटेको छ । महानिर्देशक रायले भनेका छन्–‘सरकार र कानुनले दिन्छ भनेको कुरा ल्याउन दिन्छौ, त्यो भन्दा बाहिर गएर ल्याए कारवाही गर्छौ ।’
भन्सारको कानुन र प्रक्रिया थाहा नभए नेपाल कस्टम एप डाउनलोड गरेर के–के सामान कति ल्याउन पाइन्छ सोको जानकारी लिन समेत उनले आग्रह गरेका छन् । रायले बाह्य व्यापार सहज बनाउन भन्सार प्रणालीलाई अटोमेसनमा लैजाने काम भइरहेको उनले बताए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै बिदेशबाट फर्किनेले ल्याउने सामानमा विमानस्थल अध्यागमनले जनवरी १ देखि तोकिएभन्दा बढी सामान ल्याएमा पूर्ण रुपमा जफत गर्ने बताएको छ । यसअघि कतिपय सामानमा सहुलियत दिने गरिएको थियो । खासगरी विदेशबाट आउनेले यसअघि इलेक्ट्रोनिक्सका सामान र मदिरामा केही सहुलियत पाउँदै आएका थिए ।
अहिले १ लिटरभन्दा बढी मदिरा ल्याएमा बिमानस्थल अध्यागमनले जफत गरिरहेको छ । ऐनअनुरुप १ लिटरभन्दा बढी ल्याउन नपाउने व्यवस्था रहे पनि यसअघि २ वटासम्म ल्याउन छुट दिइएको थियो ।
ऐनमा उल्लेख भएका कुरा थाहा नहुनेलाई यसअघि केही सामानमा छुट दिइए पनि अब छुट नरहेको एक उच्च अधिकारीले बताएका छन् । उनले भने–‘अब कसैले पनि थाहा थिएन भनेर कुनै पनि सामान तोकिएभन्दा बढी ल्याउन पाउँदैन, ल्याएमा जफत हुन्छ ।’
ट्याबलेट, नयाँ ल्यापटप, कम्प्युटर, मोबाइल, क्यामेरा, पेनड्राइभ जस्ता इलेक्ट्रोनिक्स सामान पनि एक–एक थान ल्याउन पाउने व्यवस्था छ । जनवरी अघिसम्म यी सामानहरुमा कडाई गरिएको थिएन ।
त्यस्तै विदेशमा एक वर्ष काम गरी फर्केकाले एक पटकमा ३२ इन्चसम्मको एउटा टिभी ल्याउन पाउने व्यवस्था छ । व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामानमा पूर्ण भन्सार छुट हुने गरेको छ ।
जसमा लुगाफाटा, बरबिछ्यौनादेखि गृहस्थीका पुराना सामान र औषधि उपचार गराई नेपाल फर्केका विरामीले ल्याउने औषधिमा कुनै भन्सार कर नलाग्ने भन्सार कार्यालयले जनाएको छ । त्यस्तै शारीरिक रुपमा अशक्तले सहाराको रुपमा प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान ल्याउन पाउने व्यवस्था छ ।
सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरियामा भन्सार छुट रहेको छ । तोकिएभन्दा बढी ल्याएमा ऐनअनुसार कारबाही तथा जरिवाना हुने कार्यालयले जनाएको छ ।
म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो एक–एक सेटसम्म ल्याउन पाइनेछ । पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक–एक थानमा पूर्ण भन्सार छुट छ ।
डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान फुटबल, भलिबल, ब्याटमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै–गितार, हार्मो्नियम, तबला, जस्ता सामानहरु पनि पूर्ण भन्सार छुटमा ल्याउन सकिन्छ ।
त्यस्तै शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायतका सामान पन्ध्र थान, घरायसी प्रयोगका सामान्य किसिममा उपकरण मिक्सर, जुसर, सिलाई मेसिन, ग्यास टेबुल इस्त्री (आइरन), राइसकुकर लगायतका दुई थान सामानमा पूर्ण भन्सार छुट हुनेछ । यस बाहेक १० किलोग्रामसम्म खाद्य परिकार ल्याउन पाइने छ ।
कुनै नेपाली नागरिकको विदेशमा बसोबास गरिरहेको समयमा मृत्यु भएको हो भनी प्रमाणित भएमा पनि निज र निजको परिवारले निजी प्रयोग गरेको पुराना सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा पनि सम्पूर्ण महसुल छुट हुने भन्सार कार्यालयले जानकारी दिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्