बर्ष ११ की बालिकाको बलत्कारपछी पानीमा डुबाएर हत्या
विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर हत्या गरिएको अवस्थामा आइतबार दिउँसो बालिकाको शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलामा फेला परेको हो ।
शव भेटिएको स्थान वरिपरिको बस्ती पातलो छ । खोलामा माछा मार्दै गएकाहरूले बगिरहेको पानीमा निर्वस्त्र अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या गरी फालेको अवस्थामा बालिकाको निर्वस्त्र शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताएका छन् ।
बालिकाको अनुहार र कानबाट रगत बगिरहेको थियो । शरीरका अन्य अंगमा पनि नीलडाम छन् । घटनाको अनुसन्धानका लागि डीएसपी कृष्ण खड्का नेतृत्वको प्रहरी टोली खटिएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट पनि अनुसन्धानका लागि अलग्गै टोली खटाइएको छ ।
बलात्कारपछि पोल खुल्ने डरले पानीमा डुबाएर हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । रुपमति शनिबार राति ८ बजे छिमेकीको घरमा टीभी हेर्न गएको आमा मुन्नीदेवी दासले बताइन् । मुन्नीदेवीले त्यसअघि बालिकालाई २० रुपैयाँ दिएर भुजा किन्न पसल पठाएकी थिइन् ।
पसल बन्द भइसकेको भन्दै घर फर्किएकी बालिका छिमेकीकोमा टीभी हेर्न गएको आमालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । तर, बालिका छिमेकीकहाँ टीभी हेर्न नपुगेको पछि थाहा भयो । छिमेकी मोहम्मद नहिमकहाँ बालिकाका बाबु रामप्रसाद टीभी हेरेर बसिरहेका थिए । रामप्रसाद घर फर्किएपछि छोरी टीभी हेर्न नगएको थाहा भएको थियो ।
रातभर खोजी गर्दा छोरी फेला नपरेपछि अभिभावकले प्रहरीमा हराएको निवेदन दिएका थिए । प्रहरीले आइतबार दिउँसो रामप्रसादलाई छोरीको शव फेला परेको खबर गरेको थियो । ‘टीभी हेर्न गएकी छोरी त्यहाँ नपुगे पनि छिमेकीकोमा सुतेको आशंका गरियो । बिहानसम्म घर नफर्केपछि हराएको जानकारी गराउन प्रहरी कार्यालयमा पुगेको थिएँ’, रामप्रसादले भने, ‘दिउँसो शव फेला परेको खबर आयो ।’
पानीमा डुबिरहेको नांगो शव बालिकाकी हजुरआमा सीता दासले पानीबाट बाहिर निकालेर कपडाले छोपेपछि प्रहरी घटनास्थल पुगेको थियो । ‘पानीभित्र नातिनीको नांगो शव देखें,’ सीताले भनिन्–‘हेर्न नसकेर त्यहाँबाट बाहिर निकालेर कपडाले छोपिदिएकी हुँ ।’
बालिकाका चप्पल घरनजिकै चउरमा भेटिएका छन् । कपडा भने भेटिएको छैन । बालिका स्थानीय नारायण आधारभूत विद्यालयमा कक्षा १ मा पढ्थिन् । ‘बालिका हत्याको अन्य कुनै कारण देखिँदैन’, घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीले भने, ‘बलात्कारपछि पानीमा डुबाएर हत्या गरिएकोमा दुईमत छैन ।’
प्रहरीले घटनामा संलग्नको पहिचान गर्न सकेको छैन । एसपी केसीले भनेका छन्– ‘घटनाको गम्भीर रूपमा अनुसन्धान थालिएको छ ।’ बालिकाको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । शव भेटिएको स्थान बालिकाको घरबाट लगभग पाँच सय मिटर पूर्वमा छ ।
बालिकाको घरनजिकै उत्तर–पश्चिममा एउटा पशु बधशाला छ । बालिकाकी छिमेकी विमला सहनीले बधशाला कुलतमा फसेका युवाहरुको अखडा बनेको र अवेरसम्म बसेर होहल्ला र अनेक हर्कत गर्ने गरेको बताइन् । यो विषयमा प्रहरीलाई जानकारी गराइएको उनले बताएकी छिन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्