सिंहदरबारमा बसेका सबै लुटेरा: मुख्यमन्त्री लालबाबु
प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले सिंहदरबारमा लुटेरा मात्र बसेको आरोप लगाएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको ४३ औं साधारण सभाबाट निर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले यस्तो आरोप लगाएका हुन् ।
‘सिंहदरबारमा बसेकाहरुले मुलुक र जनता समृद्ध होस् भन्ने चाहेकै छैनन् ’, मुख्यमन्त्री राउतले भने–‘उनीहरु जनतालाई लुट्ने र ठग्ने धन्दामा मात्र लागेका छन् ।’ सुखी नेपाली समृद्ध नेपाल भन्ने संघीय सरकारको नारा कागजी नारा मात्र भएको उनको आरोप छ ।
सरकारको नीति र त्यो नीति कार्यान्वयन गर्ने तहमा बसेकाको गलत नियतकै कारण मुलुकको समृद्धि र विकास हुन नसकेको राउतको भनाइ छ । संघीय सरकारलाई लक्षित गर्दै मुख्यमन्त्री राउतले सिंहदरबारमा बसेकाले देशका उद्योगी व्यपारीलाई पनि लुटिरहेको आरोप लगाएका छन् ।
नेपाललाई साच्चिकै समृद्ध र विकसित मुलुक बनाउने हो भने उद्योगी र व्यपारीलाई राज्यले सम्मान गर्नुपर्ने र उद्योगमैत्री नीति बनाउनु पर्ने उनको भनाइ छ । त्यसैगरी एक अर्को प्रसंगमा राउतले संविधान जारी गरेर दिपावली मनाएका दलले नै संविधान कार्यान्वयन गर्न नचाहेको आरोप लगाएका छन् ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/lalbabu-raut-chief-minister-of-province-2-1024x662.jpg)
उनले भनेका छन्–‘हिजो संविधान जारी गर्ने बेला दिपावली गरेर खुशीयाली मनाएकाले नै अहिले संविधान कार्यान्वयन गर्न चाहिरहेका छैनन् । उनीहरु देश लुट्न मात्र व्यस्त छन ।’ प्रदेशमा भने प्रदेश सरकारले बनाउने औद्योगिक कानुन उद्योगीसँग छलफल गरेर बनाइने विश्वास मुख्यमन्त्री राउतले दिलाएका छन् ।
देशका ठुल्ठूला उद्योगी व्यापारी आफनो गलत स्वार्थ पूर्तिका लागि राजनीतिक दलको चङगुलमा फसेका कारणले पनि उद्योग र व्यपारमा समस्या देखिएको उनको भनाइ छ ।
शपथपछि कार्यक्रममा बोल्दै वीरुगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोपाल केडियाले दुई वर्षे कार्यकालमा संघको नवनिर्वाचित टिमले देखिने गरी काम गर्ने बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्