सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सरकारका काम देखेर दुनियाँ आश्चर्यचकित छः ओली

प्रधानमन्त्री केपी ओलीले आफूले एक वर्षमा गरेका कार्यले संसार आश्चर्यचकित भएको दाबी गरेका छन् । उनले आफूले एक वर्षमा असाधारण कार्यहरू गरेको दाबी गरेका छन् । ओलीले एक वर्षमा गरेका कामहरूको विवरण विश्व मञ्चहरूमा राख्दा विश्वको ध्यान नेपालतर्फ गएको बताएका छन् ।

बिहीबार झापाको दमकमा प्रदेश १ स्तरीय ‘बाल महोत्सव’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म विश्वका ठूला मञ्चहरूमा गएको छु । राष्ट्रसंघको मञ्चमा गएको छु । डाभोसमा गएर नेपालमा भइरहेका कामहरूबारे जानकारी गराएको छु । हाम्रा काम देखेर संसार आश्चर्यचकित छ ।’

फाईल फोटो

उनले छोटो समयमा कैयौँ कानुनहरू बनाएको, सङ्घीय संरचनालाई पूर्णता दिएको, कर्मचारी समायोजन गरेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले वर्तमान सरकार मुलुकलाई विभिन्न कोणबाट समृद्ध बनाउनेतिर अघि बढेकाले कसैको विरोधले फरक नपर्ने बताएका थिए ।

उनले सरकारको विरोध गर्नेहरूलाई विकासमा अघि बढ्न आग्रह गरेका छन् । उनले भने–‘हामी मुलुक बनाउन अघि बढिरहेका छौँ । सबै मिलेर विकासमा अघि बढौँ । ‘सेन्टिमेन्ट’ मा होइन ।’ उनले सरकारको विरोध गर्नेहरू आफै थाक्ने पनि बताएका थिए ।

उनले मुलुकमा सन्तुलित र सरल तरिकाले स्थानीय, प्रदेश र केन्द्रीय सरकार तथा एउटा नयाँ व्यवस्थालाई स्थापित गरेको बताए । ओलीले आफू नेतृत्वको सरकारले छिमेकीहरूसँगको हैसियत बराबरीको बनाएको दाबी पनि गरेका छन् । उनले भनेका छन्–‘हामीले छिमेकीहरूसँग हिजोको असमान अवस्थाबाट समान हैसियतको अवस्थामा र्पुयाएका छौँ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्