ओढार भत्केर पुरिएका दुई गोठालाको शव भेटियो
बास बसेको ओढार भत्केर पुरिएका २ जना गोठालाको शव पाँचदिन पछि फेला परेको छ । गत आइतबार बस्तीमा अत्यधिक हिउँ परेपछि भेडासहित ओडारमा बसेका रुवीभ्याली ४ हिन्दुङका ४७ वर्षीय नुर्बु तामाङ र उनका १८ वर्षीय साला धनबहादुर तामाङ ओडार भत्किएर पुरिएका थिए ।
उनीहरुको शव बिहीबार साँझ फेला परेको प्रहरीले जनाएको छ । तामाङद्वय सकुशल रहेको अनुमानसहित सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद व्यवस्थापन तालिम केन्द्रका १६ जना र जनपद प्रहरीका ६ जना मंगलबार साँझबाट उद्धारमा खटिएका थिए ।
उद्धार टोलीले ३१ घण्टापछि करिब २० मिटर पहिरो पन्छाई उनीहरुको शव निकालेको हो । सँगै सुतेका उनीहरुको ढुंगाले च्यापेको अवस्थामा शव भेटिएको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक दर्शन गिरीले जानकारी दिएका छन् ।
शवहरु स्थानीयको मुचुल्का बनाई सदगत गर्न आफन्तहरुलाई नै जिम्मा लगाइएको छ । ओढार भत्कँदा झन्डै एक सय ५० भेडाबाख्रा पुरिएको आशंका छ । तर, अहिलेसम्म उद्धार टोलीले ४ ओटा भेडा जीवितै निकालेको प्रहरी नायव उपरीक्षक गिरीले बताए । उनले पहिरो हटाउने कार्य चलिरहेको बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्