युवायुवतीका गोप्य तस्विर र भिडियो बटुल्दै फेसबुक
फेसबुकले पैसा तिरेर किशोरकिशोरीको गोप्य व्यक्तिगत जानकारी सङ्कलन गरेको एउटा प्रतिवेदनले देखाएको छ । प्रविधिसम्बन्धी वेबसाइट टेकक्रन्चका अनुसार फेसबुकले गरिरहेको एउटा अध्ययनका लागि विशेषत; १३ देखि १७ वर्ष उमेरका सहभागीहरूलाई तिनीहरूको मोबाइल फोनमार्फत् व्यक्तिगत जानकारी सङ्कलन गर्न मिल्ने बनाएबापत मासिक २० अमेरिकी डलर (लगभग २,३०० नेपाली रुपैयाँ ) तिरिएको हो ।
फेसबुकले यसका लागि आईफोनमा राख्न मिल्ने एप बनाएको र त्यसले एप्पलको गोपनीयता संरक्षण नीतिलाई उल्लङ्घन गर्ने पाइएको छ । टेकक्रन्चले फेसबुकले युवायुवतीलाई लक्ष्य गरेर यो कार्यक्रममा सहभागी हुन सामाजिक सञ्जालमा विज्ञापन गरेको बताएको छ । फेसबुकले भने त्यस्तो आरोप अस्वीकार गरेको छ ।
सो एपले सहभागीहरूको मोबाइल फोनमा रहेका लगभग सबै जानकारी र डेटामा फेसबुकलाई पहुँच दिन्छ । एप राखिएका मोबाइलमा फेसबुकले हेर्न सक्ने केही कुराहरू यस्ता छन्;
– कुराकानी गर्ने एपहरूमा भएका गोप्य सन्देश, तस्बिर र भिडिओ
– इमेलहरू
– विभिन्न वेबसाइटहरू हेरेको जानकारी
– कुन एप राखियो र कुन बेला चलाइयो भन्ने जानकारी
– मोबाइल प्रयोगकर्ताहरू पुगेका स्थान
– इन्टरनेट प्रयोग

यसबाहेक ती युवायुवतीहरूसँग अमेजन अनलाइनमा किनिएका सामानहरूका बारेको जानकारी समेत फेसबुकले मागेको थियो । बीबीसीले अध्ययनमा सहभागी हुनका निम्ति नाम लेखाउने वेबपेजमा जाँदा त्यसमा सङ्कलन गरिने जानकारी फेसबुकको सुविधाहरू सुधार गर्न प्रयोग गरिने जनाइएको थियो । त्यसमा लेखिएको छ, कुनैकुनै अवस्थामा हामी गोप्य इन्टरनेट प्रयोग र इन्क्रिप्शन गरिएका एपहरूबाट समेत जानकारी सङ्कलन गर्छौँ ।
गोप्य इन्टरनेट प्रयोग भनेको कुनै जानकारी नरहनेगरी गरिने प्रयोग हो भने इन्क्रिप्शन गरिएका भाइबर वा ह्वाट्सएप कुराकानीहरू अरूले हेर्दा पढ्न मिल्दैन । त्यसमा सहभागीले तेस्रो पक्षलाई सो अध्ययनका बारेमा जानकारी दिन नपाउने नियम मान्नुपर्ने बताइएको छ ।
सामाजिक सञ्जाल फेसबुकले भने अध्ययनमा सहभागी सबैको सहमति लिइएको र बजार अध्ययन मात्रै गरिएको बताएको छ । यद्यपि टेकक्रन्चले समाचार लेखेको केही घण्टापछि फेसबुकले एप्पलका प्रयोगकर्ताहरूका लागि अध्ययन कार्यक्रम अन्त्य गरेको थियो तर एन्ड्रोइड भएका मोबाइल फोनहरूमा यो यथावत छ ।
सो अध्ययन १३ देखि ३५ वर्षको उमेर समूहका लागि लक्षित गरिएको थियो र १८ वर्षभन्दा कम उमेरका सहभागीका लागि अभिभावकको लिखित सहमति मागिएको फेसबुकले बताएको छ । तर बीबीसीले १४ वर्षीय बालकका रूपमा परिचय दिएर सहभागी हुन खोज्दा अभिभावकको सहमति लिनु पर्ने प्रावधान पालना नगरीकनै नै एप डाउनलोड भएको थियो ।
एउटा पानामा भने प्रयोगकर्ता १८ वर्षभन्दा माथि उमेरको हुनुपर्ने उल्लेख थियो । एक वक्तव्यमा फेसबुकले टेकक्रन्चले त्यस्तो सर्वेक्षण कार्यक्रमबारे गरेको व्याख्या सही नभएको बताएको छ । बजार अध्ययनका मूल तथ्यहरू छोडिएका छन्, एक प्रवक्ताले इमेलमा बताएका छन् । यसको सम्बन्धमा केही पनि गोप्य छैन, यसलाई फेसबुक अध्ययन एप भनिएको छ । यो जासुसी होइन किनभने सहभागीहरूलाई पारदर्शी प्रक्रियाबाट सहभागी गराइएको थियो र उनीहरूलाई यसमा सहभागी भएबापत पैसा दिइएको थियो ।
कुल सहभागी मध्ये पाँच प्रतिशत १३ देखि १८ वर्षका थिए र उनीहरू सबैले अभिभावकको सहमति पत्र दिएका थिए । बीबीसीले अभिभावकको सहमतिपत्र कसरी लिइयो भन्ने प्रश्न गर्दा फेसबुकले तेस्रो पक्षमार्फत् लिइएको मात्रै बतायो । यो समाचार बीबीसी नेपाली सेवामा प्रकासित छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्