सरकारले नै संघियताबिरोधी काम गरेको छः जनार्दन
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एंव पूर्वगृहमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले नै संविधानविरोधी काम गरिरहेको बताएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को स्थापना दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै शर्माले कर्मचारी समायोजन र शान्ति सुरक्षा विधेयकमार्फत् सरकारले संविधानविरोधी काम गरिरहेको बताएका हुन् ।
‘देश आज उल्टो दिशामा गइरहेको छ । यो स्वीकार गर्न सकिँदैन,’ शर्माले भने, ‘सरकारले संविधान पालना गरिरहेको छैन । मैले सरकारको विरोध गर्न खोजेको होइन तर सरकारले विधेयक ल्याउँदा संविधानअनुसार ल्याउनु परेन ? कर्मचारी समायोजन गर्नु परेन ? सबै मुठ्याएर माथि राख्ने प्रदेश र स्थानीय सरकारलाई निकम्मा बनाउने अनि संघीयता चल्छ ?’
राजनीतिक र कर्मचारी नेतृत्वको मिलेमतोमा संघीयताविरोधी काम भइरहेको उनको तर्क छ । ‘प्रदेश सरकारभन्दा माथि सिडिओलाई राखिदिनु पर्ने ? प्रदेश सरकारले कुनै गतिविधि गर्न नपाउनेगरी कानुन बनाउनु पर्ने ?,’ शर्माले भने, ‘यो जे भइरहेको छ । राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्वको मिलेमतोमा भइरहेको छ । संघीयताविरोधीको मिलेमतोमा भइरहेको यो कुरा मानिदैँन ।’
एकीकरणमा आफूले भूमिका खेलेको पार्टीले सरकार चलाइरहेकाले राम्रो कुरा होला भन्ने सोचेर अहिलेसम्म केही नबोली बसेको शर्माले बताएका छन् । एकता अघिसम्म भूमिका भए पनि नयाँ नेकपामा कुराहरू राख्न अहिले आफ्नो पनि पहुँच नभएको उनको गुनासो छ । ‘पार्टी एकता मैले गराएको साँचो कुरा हो । तर जेठ २ गतेपछि नयाँ संरचना बनेको छ । अहिले त्यहाँ मेरो पनि पहुँच छैन,’ शर्माले भने ।
यसअघि सरकारले प्रदेश प्रहरीको परिचालनको अधिकार पनि सिडिओलाई दिने गरी विधेयक ल्याएको थियो । नेपाल प्रहरी र प्रदेश प्रहरीको कामसम्बन्धी प्रतिनिधी सभामा दर्ता विधेयकले प्रमुख जिल्ला अधिकारीमातहत प्रदेश प्रहरी रहने व्यवस्था गरेको छ ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) देखि माथिका अधिकृतको सरूवाबढुवा पनि केन्द्रले नै गर्नेछ । प्रदेशलाई प्रहरी निरीक्षकसम्मको भर्ना र सरूवा बढुवामा सीमित गरिएको छ । शान्ति सुरक्षा तथा आन्तरिक व्यवस्था ऐनमा संशोधन गर्न बनाइएको विधेयकमा पनि जिल्लाको सिडिओ संघीय निजामती कर्मचारी मध्येबाट नियुक्त हुने र उनीहरूले केन्द्रीय सरकारको प्रतिनिधिका रूपमा काम गर्ने भनिएको छ ।
सरकारले राजपत्रमा सूचना निकालेर अन्य कार्यालयलाई पनि सिडिओमातहत राख्न सक्ने व्यवस्था गरिएको छ । यी कुराहरूले संघीयताको सही कार्यान्वयनमा समस्या आएको शर्माको तर्क छ ।
‘हामी ठीक संस्कार र संस्कृतितर्फ गएका छैनौं, गलत दिशातर्फ गएका छौं । यसले वामपन्थी आन्दोलन र समग्र नेपाली जनताको चाहनामाथि कुठराघात हुन्छ । देश ठूलो संकटमा पर्छ,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा नामअनुसारको व्यवहार भएको छैन त्यो कुरामा मेरो आपत्ति छ । हिजो संघीयताका लागि ज्यान हत्केलामा राखेर लडेको हो । अब संघीयताविरूद्ध जोकोही आए पनि लड्न तयार छु ।’
उनले आफ्नो पार्टी निकट कर्मचारीहरूलाई पनि हिजो आन्दोलन गरेको जस लिने हो भने प्रदेश र स्थानीय सरकारमा गएर सेवा गर्न सुझाव दिएका छन् । ‘समायोजन हुँदा तपाईंहरू किन तल नजाने ? सबैभन्दा प्रभावकारी बनाउनु पर्ने जग त स्थानीय सरकार हो,’ शर्माले भने, ‘कि हिजो किन लडेको आत्माआलोचना गर्नुस् होइन भने तल गएर तपाईंहरूले सेवा दिनुपर्छ । वृत्ति विकास र सेवासुविधाका लागि हामी लड्छौं तर तल गएर काम गर्नु र्पयो नि ।’
उनले अहिले व्यवस्था परिवर्तन भए पनि व्यवहार परिवर्तन नभएकाले यसमा गर्व गर्नुको कुनै अर्थ नभएको बताएका छन् । राणा र राजाहरू पनि सिंहदरबारमा त बसिरहेका थिए । पूराना शासकजस्तो शासकीय चरित्र बोकेर सेवा गर्न सकिँदैन,’ शर्माले भने, ‘हामीले संविधानमा राखेका कुरा कार्यान्वयन नभए हामीले व्यवस्था परिवर्तन र्गयौं भनेर गर्व गर्नुको अर्थ छैन । अहिले हामीसँग दुई तिहाइको बहुमत छ भन्दै हिँड्ने बेला होइन बरू विनम्रतापूर्वक जनतामा गएर सेवा गर्ने बेला हो ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्