सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नेपालको मौसम पुर्वानुमान अचेल ठ्याक्कै किन मिल्छ ?

सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा र हिमपात सुरू भएको छ । जम्मुकाश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको बताइएको छ ।

महाशाखाका मौसमविद् बरुण पौडेल मौसमको यो प्रणालीले पश्चिममा हिजो दिउँसोदेखि नै प्रभाव पारेको र आज बिहान काठमाडौंसम्म आइपुगेको जानकारी दिँदै भने, ‘अहिले काठमाडौं पश्चिमतिरका क्षेत्रमा पानी परिहेको छ ।’

यो क्रम पूर्वतिर सरिरहेको र पूर्वतिर आज पानी पर्ने जानकारी गराउँदै उनले यो अवस्था तीन दिनसम्म कायम रहनसक्ने बताएका छन् । हिमाली क्षेत्रमा पनि व्यापक हिमपातको सम्भावना देखिएको छ ।

‘बादलको प्रकृति हेर्दा पश्चिमी हिमाली क्षेत्रमा आज बिहानैदेखि हिमपात भएको हुनुपर्छ, शुक्रबार काठमाडौं आसपासका अग्ला भूभाग फुलचोकी, दामन, चन्द्रागिरि लगायतका स्थानमा पनि हल्का हिमपात हुने देखिन्छ’, मौसमविद् पौडेलले भने ।

गत पुस २३ गते यता देशभरि पाँच पटक पानी परिसकेको छ । मौसम पूर्वानुमान महाशाखाले बुधबार नै आज पानी पर्ने भनिदिएको थियो । यसअघि माघ १४ गते महाशाखाले इरानको आकाशमाथि आइपुगेको पश्चिमी वायूले १६ गतेदेखि पानी पर्ने जनायो । नभन्दै १६ गते पश्चिम र १७ गते राजधानी उपत्यकामा वर्षा भयो ।

नेपालको मौसम पूर्वानुमानमा आममानिसले त्यति विश्वास गर्दैनथे । धेरै जना भन्थे–रेडियोले पानी पर्छ भनेको दिन घाम लाग्छ, घाम लाग्छ भनेको दिन पानी पर्छ । मौसमविद्हरु उल्टोपाल्टो अनुमान गर्छन् । तर, पछिल्लो समय महाशाखाले गरेको पूर्वानुमान ठ्याक्कै मिल्न थालेको छ ।

अनुमान मिल्नु संयोग मात्र हो या महाशाखाले साँच्चै फड्को मारेर सही पूर्वानुमान गर्न थालेको हो ? यो जिज्ञासा हामीले जल तथा मौसम विज्ञान विभागको जलवायू विज्ञान महाशाखाका प्रमुख जगदीश्वर कर्माचार्यलाई सोधेका थियौं । उनी केही समयअघि पूर्वानुमान महाशाखाका प्रमुख थिए ।

कर्माचार्यले मौसम पूर्वानुमान मिल्नुमा तीन कारण प्रमुख रहेको बताए । उनका अनुसार नेपालको झन्डै साढे चार दशक लामो पूर्वानुमान इतिहासमा पछिल्ला वर्ष स्याटेलाइट, मौसम विश्लेषणको नयाँ तरिका र अन्य देशका मौसम संस्थाको सहयोगले पूर्वानुमान सही हुँदै गएको हो ।

नेपालमा मौसम पूर्वानुमानको सुरुआत आममानिसका लागि नभई जहाज उडानका लागि भएको हो । सन् १९५३ मा भारतीय कम्पनीले डिसी–३ डाकोटा जहाजबाट व्यापारिक हवाई सेवा सुरु र्गयो ।

सुरक्षित उडानका लागि भारतीय मौसम विज्ञान विभाग कलकत्ताले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यालय स्थापना गर्यो । र, त्यसैबाट अन्तराष्ट्रिय हवाई उडानका लागि मौसमी सूचना दिन थाल्यो ।

नेपालमा अन्तराष्ट्रिय हवाई उडान सुरु गर्न अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार मौसम पूर्वानुमान तथा मौसमी सूचनाको आवश्यकता पर्ने भएकोले सन् १९६४ मा विश्व मौसम संगठनमार्फत इजरायली विशेषज्ञ नेपाल आए ।

उनीहरुको सुझाव बमोजिम सन् १९६६ मा जलस्रोत विभागअन्तर्गत पूर्वानुमान गर्ने निकाय स्थापना भयो । सोही वर्ष नेपाल विश्व मौसम संगठनको सदस्यसमेत बन्यो । सन् १९६८ देखि नेपाल आफैंले हवाई उडानका लागि मौसमी सेवा दिन सुरू र्गयो ।

सन् १९७० देखि हवाई उडानलाई चाहिने मौसमी तथ्यांकका साथै आममानिसलाई पनि काम लाग्ने पूर्वानुमान गर्न थालियो । महाशाखाले गरेको मौसम पूर्वानुमान रेडियो नेपालले पनि समाचारमा बजाउँथ्यो ।

महाशाखाले मौसम पूर्वानुमान गर्न देशभरि १५ वटा सिनोप्टिप स्टेसन राखेको छ । सन् ७० को दशकमै जोडिएका ती स्टेसनले तीन÷तीन घन्टामा रेकर्ड भएका मौसमसम्बन्धी विवरण केन्द्रमा पठाउँछन् । ‘तिनै विवरणका आधारमा हामी २४ घन्टाको अनुमान गर्थ्यौं,’ कर्माचार्यले भने, ‘त्यही भएर अनुमान त्यति धेरै मिल्दैनथ्यो ।’

इन्टरनेटको विकाससँगै अरु देशले सञ्चालन गरेका स्याटेलाइटका सेवा नेपालले पनि लिन सक्ने भयो । महाशाखालाई मौसमसम्बन्धी पूर्वानुमानका लागि जापानले नोआ र अमेरिकाले जिएसएम स्याटेलाइटका तस्बिर हेर्न रिसिभर राखिदिएका थिए । ती स्याटेलाइटले दिनमा कहिले एउटा कहिले दुईवटा तस्बिर पठाउँथे ।

‘१८ वर्षअघि मैले जागिर सुरु गर्दा तिनै तस्बिर हेरेर मौसम पूर्वानुमान गर्नुपर्थ्यो,’ कर्माचार्यले भने, ‘कुनै तस्बिर १० घन्टा पहिलाको हुन्थ्यो भने कुनै छ घन्टा पहिलाको । तै पनि मौसमविद् केही समयको मौसम पूर्वानुमान गर्थे ।’

भारतले सन् २००० मा मौसम सम्बन्धी विवरण हेर्न आफ्नो स्याटेलाइटको रिसिभर दियो । तर, त्यो तीनर–चार महिनामै बिग्रियो । सन् २०१० मा चीनले आफ्नो मौसमसम्बन्धी विवरण पठाउने एफवाई–२ स्याटेलाइटको रिसिभरमा जडान गरिदियो ।

यसले घन्टाघन्टामा तस्बिरहरु पठाउँथ्यो । त्यसमा चारवटा च्यानल (ब्यान्ड) आउँथे । ‘चिनियाँ स्याटेलाइट आएपछि पहिलाभन्दा केही सजिलो भयो,’ कर्माचार्यले भने, ‘त्योभन्दा सजिलो जापानले सन् २०१६ को डिसेम्बरमा हेमावारी स्याटेलाइटको रिसिभर जडान गरिदिएपछि भयो ।’

सन् २०१४ मा लन्च भएको हेमावारी स्याटेलाइटले १०–१० मिनेटमा पृथ्वीको फोटो पठाउँछ, त्यो पनि १४ च्यानल (ब्यान्ड) समावेश गरेर । नेपालको मौसम पूर्वानुमान गर्न यो क्षेत्रकै मौसमको अवस्था हेर्नुपर्छ । विशेषगरी भारतको मौसमी अवस्थाले नेपालमा के हुन्छ भनेर अनुमान गर्न सकिन्छ ।

नेपालमा चार किसिमका मौसमी प्रणाली सक्रिय हुन्छन् । बंगालको खाडीबाट मनुसुनी वायु आउनुअघिको प्रि–मनुसन चक्र, मनसुन, पोस्ट मनुसन र हिउँदमा पश्चिमी वायुले ल्याउने चक्र ।

‘हामी बंगालको खाडीबाट आएको मनसुनी वायुले वर्षा भयो भन्छौं,’ कर्माचार्यले भने, ‘खासमा त्यो वायु बंगालको खाडीमा नै उत्पन्न हुने होइन, हिन्द महासागरको दक्षिण गोलाद्र्धमा उत्पन्न भएर आउने हो ।’

उनका अनुसार मनसुनी वायु दक्षिणी गोलाद्र्ध अफ्रिका महादेशको पूर्वी किनार हुँदै भारतको केरला आइपुग्छ । त्यहाँदेखि एक भाग छुट्टिएर उत्तरपश्चिम भारत र पाकिस्तानतिर जान्छ । आधा वायु भारतीय भूमि पार गर्दै बंगालको खाडीमा आइपुग्छ र बंगालको खाडीमा बनेको सिस्टमले त्यसमा पानीको मात्रा बढाउँछ ।

बंगालको खाडीबाट आधा मनसुनी वायु म्यानमारतर्फ जान्छ भने आधा पूर्वी नेपाल हुँदै नेपाल पस्छ । ‘यो मनसुनी चक्र हरेक वर्ष यसरी हुन्छ,’ कर्माचार्यले भने, ‘मनसुन सुरु हुनुअघि प्रि–मनसुनको यहीँको स्थानीय सिस्टमले बन्छ । त्यस्तोमा एकैचोटि बादल लाग्ने, हावाहुरी चल्ने, चट्याङ पर्ने भएर केही घन्टापछि सकिन्छ ।’

त्यस्तै मनसुन सिजन सकिएपछि पोस्ट–मनसुन पनि यहाँको स्थानीय सिस्टमले सिर्जना गर्छ । भूमध्येसागरबाट इरान, अफगानिस्तान, पाकिस्तान र भारतको जम्मुकश्मिर हुँदै आउने पश्चिमी वायुले नेपालमा हिउँदे वर्षा गराउँछ । ‘डडेल्धुरा र दार्चुला हुँदै आउने पश्चिमी वायु सतहदेखि बढी उचाइमा पूर्वतिर सर्छ,’ महाशाखाका मौसमविद् बरुण पौडेलले भने, ‘सोही वायुको प्रभावले पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिमपात हुन्छ ।’

मौसमको पूर्वानुमान गर्न अरु देशको पनि मौसमी विवरण थाहा पाउनुपर्ने भएकाले विश्व मौसम संगठनले विभिन्न देशबीच आपसमा त्यस्ता विवरण आदानप्रदान गर्ने चलन बनाएको छ । दक्षिण एसियाका लागि दिल्लीमा क्षेत्रीय कार्यालय स्थापना भएको छ ।

‘हामीले पनि प्रत्येक दिन दिल्लीमा हाम्रो मौसमी विवरण बुझाउँछौं,’ कर्माचार्यले भने, ‘उताबाट भारत, बंगलादेश, पाकिस्तानको मौसमी विवरण हामीलाई आउँछ ।’ मौसम पूर्वानुमान मिलाउन महत्वपूर्ण सहयोग गरेको अर्को कारण गणितीय मौसम पूर्वानुमान प्रणाली अपनाएकाले हो ।

विश्वका अरु देशमा सन् १९८० देखि नै प्रचलनमा आएको यो प्रणाली विभिन्न ठाउँको मौसमी विवरण सूत्रमा राखेर हिसाब गरिन्छ । ‘जस्तो वायुको चाप, आद्रता, वायुको गति, बादलको मात्रा लगायत कुरा समेटेर एउटा बक्स बनाइन्छ,’ कर्माचार्यले भने, ‘अनि सूत्र लगाएर हिसाब गरिन्छ र त्यो क्षेत्रमा मौसम पूर्वानुमान गरिन्छ ।’

यसरी गणितीय हिसाब गरेर मौसम पूर्वानुमान गर्दा निश्चित ठाउँको सिस्टम अर्को निश्चित ठाउँमा कति समयमा पुग्छ र त्यहाँ पुगेपछि के हुन्छ भन्ने विश्लेषण हुन्छ । नेपालमा अहिले चार किलोमिटरको फरकमा त्यस्ता बक्स बनाएर मौसमको हिसाब गरिन्छ ।

‘हामीले गणितीय मौसम पूर्वानुमान प्रणालीको औपचारिक सुरुवात गरेकाले पछिल्लो समय पूर्वानुमान धेरै मिल्न थालेको हो,’ कर्माचार्यले भने, ‘भारत लगायत देशमा बनेका त्यस्ता बक्सको पनि हामी यहीँबाट हिसाब निकाल्न सक्छौं ।’

यो प्रणालीमा काम थालेपछि महाशाखाले अहिले आउने तीन दिनको मौसम पूर्वानुमान गर्दै आएको छ । पहिला महाशाखाले २४ घन्टाको मात्र पूर्वानुमान गर्थ्यो । पूर्वानुमान मिल्नुको तेस्रो कारण पछिल्लो समय मौसमसम्बन्धी विभिन्न संस्थाहरुले पनि महाशाखालाई आफ्ना सेवा उपलब्ध गराउन थालेका छन् ।

युरोपियन सेन्टर फर मिडियम रेन्ज वेदर फोरकास्ट र सिभियर वेदर फोरकास्टिङ डेमोनेस्ट्रसन प्रोजेक्टले सन् २०१५ देखि नेपाललाई आफूले गरेको अध्ययनअनुसार मौसमी पूर्वानुमान उपलब्ध गराउँदै आएका छन् ।

‘यिनै कारणले अहिले मौसमी पूर्वानुमान धेरै सही साबित हुन थालेको हो, पहिला २४ घन्टाको मात्रै पूर्वानुमान हुन्थ्यो भने अहिले तीन दिन पछिसम्मको हुन्छ,’ कर्माचार्यले भने, ‘अझ यसलाई बढी भरपर्दो बनाउन हामी काम गरिरहेका छौं ।’

विश्व बैंकले नेपालको मौसमी पूर्वाधार, तालिम लगायत सुधार गर्न ३ करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । त्यसमध्ये आधा अनुदान र आधा सहुलियत ऋण छ ।

‘यही लगानीमा सन् २०१९ को अन्त्यसम्म २ वडा राडार र ८८ वटा अटोमेटिक वेदर स्टेसन राख्ने गरी काम भइरहेको छ,’ कर्माचार्यले भने, ‘गणितीय बक्स बनाउन पनि चार किलोमिटरलाई घटाउन लागेका छौं, त्यसपछि हामीले गरेको पूर्वानुमान झन् वैज्ञानिक हुन्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS