सरकारले उपचार नगर्दिए मुद्दा हाल्न पाईन्छः प्रचण्ड
नेकपा अध्यक्ष प्रचण्डले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्तरगत राखिएको बताउँदै अब गरीबले उपचार नपाएर मर्नु नपर्ने बताएका छन् । सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न सकिने प्रचण्डको भनाइ छ ।
सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्यचौकीको सोमबार उदघाटन गर्दै प्रचण्डले भने–‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ । उपचार नपाएर गरिबीका कारण अब कोही मर्नुपर्ने छैन । गरीबको उपचार सरकारले गर्नेछ, नगरे अदालतमा मुद्दा दिन पाइन्छ ।’
पूर्वप्रधानमन्त्री एवं सिरहाका पूर्व जनप्रतिनिधिसमेत रहेका प्रचण्डले भने–‘अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईंहरुको मागमा म सकारात्मक छु । डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरो तर्फबाट तपाईंहरुलाई सहयोग रहनेछ ।
![](https://everestwall.com/wp-content/uploads/2019/02/prachanda-1024x644.jpg)
प्रचण्डले नेकपाको सरकारले मधेसको विकासमा ध्यान दिँदैन कि भनेर शंका नगर्न सिराहाबासीसमक्ष आग्रह गरेका छन् । ‘नेकपाले मधेसमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको छ’ प्रचण्डले भने, ‘तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ ।’
सिँचाई र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको प्रचण्डको भनाइ थियो । साथै उनले सिराहालाई आँपको जोनका रुपमा विकास गर्न पहल गर्नेसमेत बताए । धानखेतीमा पनि सिराहा उर्बर जिल्ला रहेको बताउँदै उनले यसलाई धानको सुपरजोनका रुपमा विकास गर्न आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पूर्वाधार विकास, उत्पादन वृद्धि, रोजगारी सृष्टि, निर्यात बढाउने र आयात घटाउने काममा पार्टी र सरकार लागिपरेको प्रचण्डले बताएका छन् । नेकपा अध्यक्ष प्रचण्डले मधेसी जनताको अधिकारको पक्षमा संविधान संशोधनका लागि लगातार पहल गरिरहेको समेत कार्यक्रममा बताए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्