सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

यस्तो छ भारतले नेपालमा हस्तक्षेप गर्नुको कारण

नेपालको राजनीतिमा ‘भारत फ्याक्टर’ चर्चा र विवादमा आइरहन्छ । अनुमान र विश्वास गरिन्छ, ‘भारत फ्याक्टर’ ले कहिले देखिने त कहिले नदेखिने भूमिका खेल्छ । त्यसो भए, नेपालमा भारतको मुख्य चासो के हो त ? नेपालमाथि खास चासो राख्दा भारतलाई के फाइदा छ ? यस्ता प्रश्न पनि उठिरहेका हुन्छन् ।

जानकारहरु ठान्छन, भारतका लागि मुख्य चासो वा प्राथमिकताको विषय सुरक्षा हो । र त्यसमा पनि चीन मुख्य चासोको विषय हो । यस मामलाका जानकाहरु मान्छन, भारतले नेपालमाथि आफ्नो दवदवा चीनका कारण बनाउन चाहेको हुन्छ ।

भारतका बुद्धिजीवी तथा पत्रकार भन्छन, ‘नेपालका हरेक क्षेत्रमा भारतको हस्तक्षेप हुनुको कारण चीन नै हो । नेपालमा भारतले कुनै यस्तो ठाउँ खाली राख्न चाहदैन, जहाँ चीनले गतिविधि गर्न पाओस् । हिमालदेखि तराईसम्म भारतले आफ्नो सञ्जाल बनाएको छ, जसमा चीनलाई कही ठाउँ दिन चाहेको छैन ।’

भारतलाई नेपालका लागि सबैभन्दा टाउको दुखाईको विषय त्यसबेला हुन्छ, जुनबेला चीनले नेपालमा आफ्नो गतिविधिलाई तिब्रता दिन्छन् । हुन त भारतका लागि पाकिस्तान पनि चासोको विषय हो, तर पाकिस्तानलाई आफै नियन्त्रण गर्न सकिन्छ भन्ने भारतीय बुझाई छ ।

भारत–पाकिस्तान सीमा नेपाल–भारत भन्दा धेरै संवेदनशिल र कठीन छ, दुवैतर्फबाट । भारतीय बुद्धिजीवि ठान्छन, ‘चीनले नेपालको भूमि टेकेर गतिविधि गर्न थाल्यो भने भारतका लागि नियन्त्रण भन्दा बाहिर हुन्छ । त्यसैले भारत चाहन्छ कि, नेपालमा चीनको कुनै गतिविधि नहोस । अर्थात नेपाली जनता ‘प्रो चाइनिज’ होइन ‘प्रो इन्डियन’ होउन भन्ने भारतीय चासो रहने गरेको छ ।

गत साता पटनामा भएको कार्यक्रममा भारत विहारका पूर्व डिआइजी रामचन्द्र खानले सिधा–सिधा भाषामा भने, ‘नेपाली जनतालाई यो कुराले दुःख लाग्छ होला, तर भारतले चीनका लागि नेपालमाथि आफ्नो हस्तक्षेप बढाएको छ ।’

उनले अरु पनि खोले, ‘हाम्रो लागि नेपाल चिन्ताको विषय होइन, चिन्ताको विषय चीन हो । यदि हामीले नेपालमाथि हस्तक्षेप बनाएर राखेनौँ भने चीनले हस्तक्षेप गर्छ, जुन भारतका लागि नराम्रो हुन्छ ।’

पूर्व सुरक्षा अधिकारी खानको भनाई यत्तिमा मात्र सीमित थिएन । उनले आफ्नो कुरा राखे, ‘भारतीय दूतावासमा मेरा थुप्रै साथी छन, मैले नै उनीहरुलाई सोधँे– नेपाल जस्तो सानो देशमा किन चार सय कर्मचारी राखेको होला, उनीहरुको जवाफ पनि यहीँ हुन्छ ‘चीन’ ।’

खानको बुझाईमा ‘यदि नेपालको आडमा चीनले कुनै गतिविधि गरेन भने भारत पनि शान्त भएर बस्छ ।’ तर, चीनले शान्त भएर बस्न नदिएको गुनासो उनको थियो । यहीकारण भारतले नेपालमा सम्पूर्ण ध्यान लगाउने गरेको उनले बताए ।

डिआइजी भन्दा अलि फरक धारणा राख्छन बीबीसीका पत्रकार मनिकान्त ठाकुर । १८ वर्षसम्म बीबीसीमा काम गरेका मानिकान्तले भने, ‘नेपालका लागि भारत दुईटा कुरामा चिन्तित छ । एउटा हो–माओवादीको गतिविधि र अर्को चीन ।’

उनका अनुसार, ‘नेपालमा माओवादीको गतिविधि जति बलियो हुन्छ, त्यसको असर सिधै भारतका माओवादीमा पर्छ । त्यसले गर्दा भारत चाहन्छ कि नेपालमा माओवादी कमजोर होस् ।’ नेपालमा चीनले जुन प्रकारको गतिविधि बढाएको छ, त्यसले भारतलाई चिन्तित बनाएको बताउँदै मनिकान्तले यसलाई भारतको हस्तक्षेप भन्न नमिल्ने बताए ।

‘चीनको गतिविधि भारतको बोर्डरसम्म पुगेको छ, त्यसलाई कसैले हेर्दैन, ती गतिविधिलाई रोक्न भारतले केही गर्यो भने त्यसलाई हस्तक्षेप भन्ने गरेको छ’ पटनाको एक कार्यक्रममा भेट भएका मनिकान्तले रातोपाटीसँग भने, भारतले कुनै हस्तक्षेप गरेको छैन, बरु, मधेशी, आदिवासी, जनजाति र दलितले अधिकार पाएन र त्यसले अधिकार पाउनुपर्छ भन्नुलाई हस्तक्षेप भन्छन् भने त्यसमा हामीलाई केही भन्नु छैन । तर, बोर्डरका जनतामाथि विभेद भयो भने भारत चुप लागेर बस्दैन, किनभने त्योसँग भारतको सुरक्षा जोडिएको छ ।’

प्राध्यापक प्रफुल्लकुमार सिंह मौनले पनि नेपालको भूमिमा भारत विरुद्ध कुनै गतिविधि भयो भने भारत चुप लागेर बस्न नसक्ने बताए । ‘भारतमा जतिपनि आतंककारी गतिविधि भएका छन, ती प्रायः नेपालको भूमि प्रयोग भएर भएका छन् ।’ उनले दावी गर्दै भने, ‘भारतमा जालीनोटको कारोवार पनि नेपालको बाटोबाट मात्र हुने गरेको छ । यदि त्यसलाई हस्तक्षेप भन्छन् भने त्यो नेपालको टाउको दुखाईको कुरा हो ।’

प्राध्यापक रत्नेश्वर प्रसादले पनि नेपालमा ‘एन्टी इण्डियन सेन्टिमेन्ट’ देखिनु भारतका लागि हितकर नभएको बताए । यस्तो अबस्था आउनु भारतका लागि सृजना हुनु हितकर होइन, सायद भारतले नेपाललाई बुझाउन नसकेको हो ।’

उनले भने, ‘नेपालको भूमिबाट भारतबिरुद्ध गतिविधिहरु भइरहेका छन, यसलाई नेपालले किन नियन्त्रण गर्न नसकेको हो ? नेपालले नियन्त्रण गर्न सकेन भने भारतले आफ्नो गतिविधि पक्कै बढाउँछ । यसमा नेपाली जनताले चित्त दुखाउनु हुँदैन ।’

रत्नेश्वरले थप भने, ‘नेपालले पटक–पटक भन्छ, हामी भारतको विरुद्ध नेपालमा कुनै गतिविधि हुन्न दिन्नौं । तर, हेर्नुस् पाकिस्तानी आइएसआइका व्यक्ति नेपालमा छ्यापछ्याप्ती छन् । नेपालकै बाटो प्रयोग गरेर भारत पस्छन् र भारतमा घटना गराउँछन् ।’

उनले पाकिस्तानपछि चिनियाँले पनि उस्तै काम गरेको आरोप लगाए । ‘चीनको गतिविधि नेपाल–भारतको बोर्डरसम्म पुगिसकेको छ । विना भिषा, विना कुनै अनुमति चिनियाँ भारत पसिरहेका हुन्छन, यसको नियन्त्रण कसले गर्ने, नेपालले होइन ? तर, अहँ गर्दैनन, बाध्य भएर भारत त्यसलाई नियन्त्रण गर्न अगाडि बढेको छ । तर, नेपालले भन्छ, यो हस्तक्षेप भयो ।’

स्रोत: एसके यादव/रातोपाटी

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS