जापानमा भिसाका लागी झुठा कागजात पेश गर्ने ५ नेपाली नियन्त्रणमा
झुठा कागजात पेश गरी भिसा नविकरणका लागी आवेदन दिने पाँच नेपाली र झुठा कागजात बनाउने र काम लगाईदिने एक जापानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
याहु न्युजको समाचारमा उल्लेख गरिए अनुसार किर्ते कागजात बनाई भिसा नविकरण गरिदिने र काम लगाइदिने इसाओ हासायाका नाम गरेका ति जापानी नागरिक एक मानव संशाधन कम्पनीका पुर्व कर्मचारी हुन् ।
जापानी नागरिक हासायाका र पाँच नेपालीलाई टोकियो महानगरिय प्रहरीले शुक्रबार पक्राउ गरेको समाचारमा जनाइएको छ । पक्राउ परेकाहरुको नाम तथा ठेगाना भने प्रहरीले खुलाएको छैन । पक्राउ परेकाहरु नेपाली भएको र उनीहरु महिला र पुरुष भएको मात्रै प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका जापानी नागरिक हासायाकाले गत वर्षको मे महिनामा ती नेपाली युवा युवतीको भिसा नविकरणका लागि किर्ते कागजात बनाउन सहयोग गरेको पाइएको छ ।
पक्राउ परेका नेपालीहरुले कागजातमा कार्यक्षेत्र भाषा अनुवादक उल्लेख गरेको भए पनि उनीहरुले काम भने अरु नै गर्दै आएको पाइएको छ । भिसामा उल्लेख गरिएको कार्यक्षेत्र विपरित काम गर्दै आएकाले उनीहरुमाथी अबैध रुपमा जापान बस्दै आएको आरोप लगाइएको छ ।
झुठा कागजात बनाई भिसा लगाइदिने र काममा पनि लगाइदिने गरेका जापानी नागरिक हासायाकाले उनीहरुबाट र काम दिने कम्पनीबाट समेत गरी मोटो रकम कमाउने गरेको पनि खुल्न आएको छ । उनले तिन बर्षको बिचमा १० करोड भन्दा बढी रकम कमाएको बताइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्