सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बिपक्षि नेताको आव्हानमा भेनेजुयलामा अमेरिकी सेना

अमेरिकी सैन्य जहाजहरुले भेनेजुयलासँग सिमा जोडिएको कोलम्बियाली सहर कुकुटामा मानवीय सहायता सामाग्री पुर्याई रहेका छन् । सहायता सामाग्री भेनेजुयलाका नेता हुआँ ग्वाइडोको आग्रहमा संकलन भइरहेको हो ।

उनले अघिल्लो महिना आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए, जसलाई अमेरिका र उसका मित्र राष्ट्रहरुले तत्काल समर्थन गरेका थिए । राष्ट्रपति निकोलस मडुरोले सहायता सामाग्रीहरुलाई भेनेजुयला हस्तक्षेपको अमेरिकी बाहनाको आरोप लगाएका छन् ।

ग्वाइडोले फेब्रुअरी २३ को दिन लगभग ६ लाख भेनेजुयाली स्वयमसेवकहरुले सहायतालाई सिमाना पार गर्ने बताएका छन् । उनले शनिवार एक ट्वीटमार्फत भनेका छन्–‘हामीहरु सीमाभित्र र बाहिर दुवैतिर स्वयमसेवक परिचालन गर्नेछौं । हाम्रो संघर्षले परिणाम देखाउन थालेकोे छ !’

तर अझै सत्तामा बलियो पकड बनाएका निकोलस मडुरो प्रशासनले सहायता भेनेजुयलाभित्र ल्याउन दिन्छन् कि दिँदैनन् स्पष्ट भइसकेको छैन । भेनेजुयला र कोलम्बिया जोड्ने सकडमा रहेको एक पुलको भेनेजुएलातर्फ भागमा ठूला कन्टेनरहरु राखेर अवरोध गरिएको छ ।

कुकुटमा भएको एक पत्रकार सम्मेलनमा यूएसएडका प्रशासक मार्क ग्रिनले भनेका छन्–‘बालबालिकाहरु भोकाउदैं गएका छन् र भेनेजुएलाका लगभग प्रत्येक अस्पतालले गम्भीर चिकित्सकीय अभाग भोगिरहेका छन ।’

ग्वाइडोका प्रतिनिधिहरुले थप सहायता संकलनका केन्द्रहरु ब्राजिल र क्यारेवियन क्षेत्रमा खोलिने बताएका छन् । सोही प्रतिनिधिले अमेरिकामा सहायता संकलनको लागि अमेरिकाको मायामीमा संकलन केन्द्र खोलिएको बताएका छन् ।

राष्ट्रपति मडुरोले भने यसलाई अमेरिकी योजनामा भएको कारबाही रहेको र भेनेजुएलामा कुनै खालको संकट नभएको बताएका छन् । शुक्रबार उनले आफ्ना सेनालाई अमेरिकी ‘युद्ध योजना’ सँग उच्च सतर्क रहन आदेश दिएका छन् ।

अमेरिका र कैयन पश्चिमा सरकारबाट अन्तरिम राष्ट्रपतिको रुपमा पहिचान गरिएका ग्वाइडोले लाखौं स्वयमसेवकहरुले सहायता सामाग्रीहरु देश भित्र्याउन ब्रिग्रेड निर्माण गर्न सहमत भएको बताएका छन् ।

उनले भेनेजुएलाको सेनालाई पनि सहायता सामाग्री भित्र्याउन दिन आह्वान गरेका छन्, तर उनीहरुले त्यसो गर्न दिने नदिनेमा स्पष्ट भइसकेको छैन । उनले फेब्रुअरी २३ लाई मानवीय सहायता सामाग्रीलाई देशभित्र परिचालन गर्ने मिति घोषणा गरेका छन् ।

कुकुटाका अधिकारीहरुले केही दिनभित्र मानवीय सहायता बोकेका थप उडानहरु कोलम्बिया अवतरण हुने बताएका छन् । एक वक्तव्यमा भेनेजुएलाको अस्पतालको लागि भनेर चिकित्सकीय आपूर्ति र औषधीहरु अर्को हप्ता आउने भनिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्