सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

दुर्घटनामा ज्यान गुमाएकाको शव काठमाण्डौ ल्याईँदै

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सातै जनाको शव ताप्लेजुङ सदरमुकामस्थित सुकेटार विमानस्थल ल्याइएको छ । निधन भएका सबैको शव नेपाली सेनाको टोलीले बिहीबार बिहान सुकेटार विमानस्थल ल्याइपुर्याएको हो ।

दिवंगत सबैको शव आजै काठमाडौं ल्याउने तयारी भएको छ । तर मौसम राम्ररी खुलिनसकेकाले केही बेर रोकिराखिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित विमानमा सवार सातजनाको निधन भएको थियो ।

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव काठमाण्डौ ल्याउने तयारी गर्दै नेपाली सेना

सातमध्ये चार जनाको शव बुधबार नै सुकेटार विमानस्थल ल्याइएको थियो । नचिनिने अवस्थामा रहेका शव सेनाको हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको हो ।

खराब मौसमका कारण अन्य तीनवटा शव सुकेटार विमानस्थलमा ल्याउन सकिएको थिएन । बुधबार रातभर हिमपात परे पनि ताप्लेजुङका डीएपी सञ्जयसिंह थापाको नेतृत्वमा घटनास्थलमा नै प्रहरी बसेको थियो ।

पाथिभरा दर्शन गरेर काठमाडौंका लागि उडेको मन्त्री सवार हेलिकप्टर फुङलिन नगरपालिका १० साविक फुरुम्बु गाविसको मयाम सिरानस्थित तारेढुंगा भीरमा दुर्घटनाग्रस्त भएको हो ।

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव काठमाण्डौ ल्याउने तयारी गर्दै नेपाली सेना

क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टर मन्त्री अधिकारीसहित सात यात्रुलाई लिएर तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनपछि ताप्लेजुङ पुगेको थियो ।

दुर्घटनामा परेर मन्त्री अधिकारीसहित पर्यटन व्यावसायी आङ्गछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछीभोय, प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुन घिमिरे र क्याप्टेन प्रभाकर केसीको ज्यान गएको छ ।

शवहरू काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ । त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने छ । श्रद्धाञ्जलीपछि मृतकका आफन्तलाई शव जिम्मा लगाइने छ ।

मन्त्री अधिकारीको शव गृहजिल्ला कास्की लैजाने स्रोतले जनाएको छ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरिसकेको छ । मन्त्री अधिकारीसहित सात जनाको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS