दुर्घटनामा ज्यान गुमाएकाको शव काठमाण्डौ ल्याईँदै
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सातै जनाको शव ताप्लेजुङ सदरमुकामस्थित सुकेटार विमानस्थल ल्याइएको छ । निधन भएका सबैको शव नेपाली सेनाको टोलीले बिहीबार बिहान सुकेटार विमानस्थल ल्याइपुर्याएको हो ।
दिवंगत सबैको शव आजै काठमाडौं ल्याउने तयारी भएको छ । तर मौसम राम्ररी खुलिनसकेकाले केही बेर रोकिराखिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित विमानमा सवार सातजनाको निधन भएको थियो ।
![](https://everestwall.com/wp-content/uploads/2019/02/helicoptor-crash-dead-body-ktm-lyaune-tayari-1024x651.jpg)
सातमध्ये चार जनाको शव बुधबार नै सुकेटार विमानस्थल ल्याइएको थियो । नचिनिने अवस्थामा रहेका शव सेनाको हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको हो ।
खराब मौसमका कारण अन्य तीनवटा शव सुकेटार विमानस्थलमा ल्याउन सकिएको थिएन । बुधबार रातभर हिमपात परे पनि ताप्लेजुङका डीएपी सञ्जयसिंह थापाको नेतृत्वमा घटनास्थलमा नै प्रहरी बसेको थियो ।
पाथिभरा दर्शन गरेर काठमाडौंका लागि उडेको मन्त्री सवार हेलिकप्टर फुङलिन नगरपालिका १० साविक फुरुम्बु गाविसको मयाम सिरानस्थित तारेढुंगा भीरमा दुर्घटनाग्रस्त भएको हो ।
![](https://everestwall.com/wp-content/uploads/2019/02/helicoptor-crash-dead-body-1024x648.jpg)
क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टर मन्त्री अधिकारीसहित सात यात्रुलाई लिएर तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनपछि ताप्लेजुङ पुगेको थियो ।
दुर्घटनामा परेर मन्त्री अधिकारीसहित पर्यटन व्यावसायी आङ्गछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछीभोय, प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुन घिमिरे र क्याप्टेन प्रभाकर केसीको ज्यान गएको छ ।
शवहरू काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ । त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने छ । श्रद्धाञ्जलीपछि मृतकका आफन्तलाई शव जिम्मा लगाइने छ ।
मन्त्री अधिकारीको शव गृहजिल्ला कास्की लैजाने स्रोतले जनाएको छ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरिसकेको छ । मन्त्री अधिकारीसहित सात जनाको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्